भैरहवा भन्सारमा नेकास प्रविधि जडान

बुलेटिन संवाददाता
२० फाल्गुन २०७३, शुक्रबार ०५:१८

रबिन्द्र प्रताप गुप्ता
भैरहवा, फागुन २० । भैरहवा भन्सार कार्यालय रुपन्देहीले भन्सार प्रशासनलाई प्रविधिमा आधारित बनाई निकासी पैठारी व्यापारलाई अझ बढी व्यवस्थित बनाउँदै लैजाने उद्देश्यले कार्यालयमा नेकास आशिकुडा वल्र्ड सिस्टमको जडान गरेको छ ।
सो प्रविधि भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले बिहीबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन । अन्तर्राष्ट्रिय व्यापारलाई अझ बढी पारर्दर्शी, व्यवसाय मैत्री एवं व्यापार सहजीकरणमा यस प्रविधिले कोसेढुंगाको रुपमा काम गर्ने भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले बताए । विशेष गरेर वेवसाइटमा आधारित सो सिस्टमलाई विश्वका ८० भन्दा बढी देशले लागु गरिसकेकाले प्रविधिको महसुस गरि भैरहवा भन्सारमा पनि जडान गरिएको चिमोरियाले जानकारी दिए । यो प्रविधिको विकासले व्यवसायीहरुले घरमै बसेर इन्टरनेटको माध्यमबाट प्रज्ञापन पत्र भर्न सकिने र व्यसायीहरुको समय र लागत समेत कम गर्ने उनले विश्वास व्यक्त गरे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले भन्सारमा लागु हुन लागेको नयाँ सफ्टवेयर सिष्टमले निकासी पैठारी व्यापारमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै सुरुवात गरेकोमा कार्यालय प्रमुख तथा महानिर्देशकलाई धन्यवाद दिएका थिए । भन्सार प्रशासनले लागु गर्न लागेको सुधारका कार्यहरुमा निजी क्षेत्रको पूर्ण समर्थन रहेकोले उद्योगी व्यवसायीहरुको समस्यालाई भन्सार प्रशासनले बुझ्नु पर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष रामकुमार शर्माले बताए ।
आशिकुडा वल्र्ड सिष्टम कार्यान्वयनमा आफूहरु पूर्ण रुपमा प्रतिबद्ध रहेकोले आगामी दिनमा व्यवसायीका समस्यालाई सहज ढंगले लिएर अगाडि बढ्नु पर्ने नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए ।
व्यवसाय मैत्री नयाँ सिष्टमको सफल कार्यान्वयनमा सबै स्थानीय, उद्योगी, व्यवसायी, भन्सार एजेन्ट संघ एवं सरोकारवालाहरुको सहयोग र सल्लाह सुझाव अनुसार कार्यलाई अगाडि बढाउने भैरहवा भन्सार प्रमुख भूपाल राज शाक्यले बताए । अन्य भन्सार कार्यालय भन्दा भैरहवा भन्सार कार्यालय सुरक्षित भएकोले अहिले कार्यालयले आफ्नो लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए ।
आर्थिक वर्ष २०७३÷०७४ को लक्ष्य २९ अर्ब ४३ करोड ४१ लाख रहेकोमा फागुन सम्म लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । गत साउन देखि फागुन महिना सम्ममा भैरहवा भन्सार कार्यालयले कुल ३९ अर्ब, ८९ करोड ९९ लाख राजश्व पु¥याएको छ ।