‘क्यान इन्फोटेकमा विद्यार्थीको घुँइचो

बुलेटिन संवाददाता
१३ फाल्गुन २०७३, शुक्रबार १२:१३

फागुन १३,
बुटवल । क्यान महासंघ नेपाल,रूपन्देहीको आयोजनामा बुटवल मण्डपमा ‘डिजिकम क्यान इन्फोटेक–२०१७’को दोस्रो दिन शुक्रबार विद्यार्थीहरुको घुँइचो लागेको छ । शिवरात्री पर्वका कारण सार्वजनिक विदा भएको हुँदा विद्यार्थीको सहभागिता बढी भएको हो । विद्यालय तथा क्याम्पसहरु विदा हुनाले इनफोटेकमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ । विहिवार पूर्व अर्थमन्त्री तथा सांसद विष्णु पौडेलले उद्घाटन गरेपछि औपचारिक सुरु भएको मेलाको दोस्रो दिन विद्यार्थीको उत्साहजनक सहभागिता भएपछि संघका अध्यक्ष रोशन कंडेलले लक्षित वर्गको उपस्थिति हुँदा इन्फोटेकको उद्देश्य पूरा हुनेमा विश्वास व्यक्त गरेका छन् । विशेष गरी विद्यार्थीहरुलाई प्रविधि र विकास बारे जानकारी र ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित इन्फोटेकमा विभिन्न विज्ञान सम्बन्धी आविष्कार ,विकास र शैक्षिक परामर्श सम्बन्धी स्टलहरु रहेका छन् । त्यसैगरी विभिन्न कम्पनीका उत्पादनहरु पनि इन्फोटेकमा प्रदर्शन तथा विक्रीका लागि राखिएको छ ।

बिहिबार उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पौडेलले प्रविधि र विकास पूरक रहेको बताउँदै प्रविधिको उचित प्रयोग गर्दै विकासलाई अघि बढाउनु पर्नेमा जोड दिन आवश्यक रहेको बताए । पौडेलले क्यान महासंघ रुपन्देहीले आयोजना गरेको इन्फोटेकले सरकारले ल्याएको स्मार्ट सिटिको अवधारणालाई प्रोत्साहन गरेको बताउँदै सफलताको कामना गरेका थिए । इन्फोटेकमा १ सय ४० स्टल सहभागी रहेका छन् । उपत्यका बाहिर बुटवलमा आयोजना गरिएको यो इन्फोटेक वृहत प्राविधिक प्रदर्शनी भएको बताउँदै क्यान महासंघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देहीका संस्थापक अध्यक्ष नवराज कुँवरले इन्फोटेकले पाँच नं.प्रदेशलाई प्रतिनिधित्व गरेको दावी गरे । फागुन १२ गते विहिबारदेखि सुरु भएको इन्फोटेक फागुन १६ गते सोमबारसम्म चल्ने प्रचारप्रसार तथा अतिथि सत्कार संयोजक बिरु क्षेत्रीले जानकारी गराए ।