क्यान महासंघ रूपन्देहीको आयोजनामा बुटवलमा सूचना प्रविधि मेला शुरु ।। पूर्व अर्थमन्त्री पौडेलद्धारा उद्घाटन

बुलेटिन संवाददाता
१३ फाल्गुन २०७३, शुक्रबार ०३:१६

बुटवल फागुन – १३ क्यान महासंघ नेपाल,रूपन्देहीको आयोजनामा बुटवल मण्डप बुटवलमा ‘डिजिकम क्यान इन्फोटेक–२०१७’को आज उद्घाटन भएको छ । इन्फोटेकको पूर्व अर्थमन्त्री तथा सांसद विष्णु पौडेलले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पौडेलले प्रविधि र विकास पूरक रहेको बताउँदै प्रविधिको उचित प्रयोग गर्दै विकासलाई अघि बढाउनु पर्नेमा जोड दिन आवश्यक रहेको बताए । पौडेलले रुपन्देहीमा हरेक क्षेत्रमा राजधानीसँग प्रतिष्पर्धा गर्ने मात्र नभई मुलुक कै उत्कृष्ट नमुना जिल्ला बन्न सक्ने स्रोत , साधन र सम्भावना रहेको बताउँदै सबैको सहकार्यको आवश्यकता आंैल्याए । कार्यक्रमका प्रमुख अतिथि रहेका पौडेलले क्यान महासंघ रुपन्देहीले आयोजना गरेको इन्फोटेकले सरकारले ल्याएको स्मार्ट सिटिको अवधारणालाई प्रोत्साहन गरेको बताउँदै सफलताको कामना गरेका थिए । आजदेखि सुरु भएको इन्फोटेकमा १ सय ४० स्टल सहभागी रहेका छन् प्रविधिको प्रदर्शन र ज्ञान दिने उद्देश्यले अयोजना गरिएको इन्फोटेका शैक्षिक प्रदर्शनीका रुपमा रहेको क्यान रुपन्देही तथा कार्यक्रमका अध्यक्ष रोशन कंडेलले बताए । इन्फोटेकमा रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे , रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष गणेश अधिकारी ,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह , क्यान महासंघका संस्थापक अध्यक्ष विमल कुमार शर्मा ,पूर्व अध्यक्ष सुरेश कर्ण , वर्तमान अध्यक्ष विनोद ढकाल ,नेपाली कांग्रेसका जिल्ला सदस्य हरि आचार्य ,नेकपा एमालेका पुरुषोत्तम घिमिरे ,माओवादी केन्द्रका रामप्रसाद बञजाडे लगायतले बोल्दै प्रदर्शनीको सफलताको शुभकामना दिएका थिए । उद्घाटन सत्रमा क्यान महासंघ रुपन्देहीका संस्थापक तथा केन्द्रिय सदस्य नवराज कुँवरले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सञ्जु पौडेलले गरेकी थिइन् ।
त्यसैगरी उद्घाटनको पूर्वसन्ध्यमा मोटरसाइकल ¥याली सम्पन्न भएको प्रचार प्रसार तथा अतिथि सत्कार संयोजक बिरु क्षेत्रीले जानकारी दिए । ¥याली बुटवल , योगीकुटी हुँदै बुटवल बजार परिक्रमा गरी पुनः बुटवल मण्डपमा फर्केको उनले बताए । इन्फोटेक फागुन १६ गतेसम्म चल्ने छ ।