श्रीकृष्णजन्माष्टमी र भगवान श्रीकृष्ण

चक्रपाणी डुम्रे (शास्त्री)
१४ भाद्र २०७८, सोमबार ०९:२१

भाद्र कृष्ण अष्टमीका दिन हिन्दु धर्मावलम्बीले धुमधामसंग मनाउने पर्व हो कृष्णजन्माष्टमी। कृष्णजन्माष्टमी भगवान श्रीकृष्णको जन्मोत्सवको दिन हो ।
कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । पुराणमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको उल्लेख छ ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेषगरी भक्तहरूले ब्रत बसी रातभर जाग्राम बस्ने चलन छ । यस दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् ।

महाभारतमा उल्लेख भए अनुसार प्राचीनकाल द्वापर युगको अन्त्यमा भारतको मथुरा राज्यमा उग्रसेनले राज्य गर्दथे । उग्रसेनालाई उनकै पुत्र कंसले राजगद्दीबाट हटाएर आफु राजा भएको थियो । उग्रसेनकी पुत्री देवकीको विवाह मथुरा कै वसुदेवस संग भएको थियोे । कंस राजगद्दीमा बसेपछि आतंकको राज्य चलायो। उ आफ्नै बहिनी देवकी र बसुदेवलाई घर पुर्याउन जादा ” देवकीको आठौं पुत्रले तेरो बध गर्नेछ” भन्ने आकाशवाणी सुन्यो । त्यसपछि कंसको क्रोधको सिमा रहेन । तेसपछी देवकी र वसुदेवलाई कारागारमा थुन्यो र उसले देवकी को छैटौं गर्ब बाट जन्मका शिशुलाई निर्ममता पुर्बक हत्या गर्‍यो  । सातौ गर्भलाई भने वसुदेवकी जेठी पत्नीको गर्भमा सारेको कथा पाइन्छ तिनै सातौ पुत्र बलराम कृष्णका दाजु हुन । भाद्र कृष्ण पक्षको अष्टमी तिथि रोहिणी नक्षत्र बुधबार रात्रीको समयमा देवकिका गर्भबाट आठौं बालक भगवान
श्रीकृष्णको जन्म भएको हो । उनै भगवान श्रीकृष्णले कंसको बध गर्नु भएको हो ।

भगवान श्रीकृष्णलाई विष्णुको आठौं अवतारका रूपमा मानिन्छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप जन्माष्टमी पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिनु भएको थियो ।

युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नु भएको थियो । यहि युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनु भएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ । भगवान श्रीकृष्णले आफ्नै सारथीका रुपमा रहेका अर्जुनलाई उनको दीनहीनता प्रती सहानुभूति दर्शाउदै ज्ञान,कर्म र भक्ती भएको गीताको उपदेश दिनुभएको छ। यसमा अठार अध्यायहरु रहेका छन् । गीता त्यो दिब्री ज्ञान हो , जसलाई वेदान्तको सारभूत ज्ञान मानिएको छ । गीता अध्यात्मबिज्ञानसम्बन्धि अहिलेसम्म उपलब्ध कृतिहरूमा अद्वितीय मानिन्छ । आज पश्चिमी मुलुकमा र आधुनिक विद्याकेन्द्रहरूमा समेत अनिवार्य रुपमा गीताको अध्यन अध्यापन गर्ने
गरिएको देखिन्छ । विश्वमा प्रचलित धेरै भाषाहरुमा गीताको अनुवाद भैसकेको छ। गीताको ज्ञानयोग , कर्मयोग र भक्तियोगको धारण गरेर परम सिद्धि आवस्यक देखिन्छ । गीतामा ज्ञान समान पबित्र अर्को कुनै चिज नभएको उल्लेख गरिएको छ। त्यस्तै भक्तीयोगका माध्यम बाट परम पद पाप्त गरेका कुरा पनि उल्लेख छन् । राजा जनकले कर्म गरेरनै सिद्धि पाप्त गरेका कुराहरु गीतामा उल्लेख छन् ।

भगवान श्रीकृष्णले गीता भन्नु भएको छ “कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन” कर्म गर्नमा तिम्रो अधिकार छ , तर कर्मको फलमा कहिल्यै अधिकार छैन । त्येसैले तिमी कर्मफल प्राप्तिको कारण नबन । त्यस्तै कर्म नगर्नमा वा निषेधित कर्ममा पनि तिम्रो आसक्ति वा प्रीति नहोस् । आसक्तिले उक्त कर्मले मानिसमा अभिमान र अहंकार पैदा गराउछ । जो सदा सन्तुष्ट भई समग्र कामना त्यागेर कर्म गर्दछ तेस्तो मान्छे कहिल्यै पनि कर्मको बन्धनमा पर्दैन । आज शिक्षक, पत्रकार, वकिल,अधिकृत ,नेता, न्यायाधीश , ब्यापारी,कर्मचारी , विद्यार्थी सबैले आ-आफ्नो कर्म गरेका छन् तर पनि सन्तुष्ट छैनन् यसको मुख्य कारण उनीहरु कर्मको फलमा लिप्त छन् । तसर्थ कर्म फल प्रति कुनै पनि अपेक्षा नराखी निरन्तर सत्कर्म तर्फ लाग्नुनै उत्तम हुन्छ । आज बर्सेनि श्रीकृष्णजन्माष्टमी मनाउदै गर्दा भगवान श्रीकृष्णले भगवतगीतामा उल्लेख गरेका ज्ञानलाई धारण गर्न आवश्यक देखिन्छ। जीवनलाई सार्थक बनाउन सत्कर्मको आवश्यक छ। फलमा अपेक्षा नराखी सदैव परहित र परसेवाका निम्ति गरिएका कर्मनै सत्कर्म हुन् । तसर्थ हामी पनि निस्काम कर्म तर्फ अभिमुख हौं । यसमा नै सबैको भलो छ ।