आज कृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै, देशभर सार्वजनिक बिदा

बुलेटिन संवाददाता
१४ भाद्र २०७८, सोमबार ०९:१७

काठमाडौं । आज देशभर  श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । आजको दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्धापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिईएको छ । विगतका बर्षमा विदा कटौति गरिएको थियो भने यस वर्ष देखि पुनः विदा दिन थालिएको हो ।