भूमि र जलका देवता नागलाई पूजा गर्ने पर्व नाग पञ्चमी

चक्रपाणी डुम्रे (शास्त्री)
२९ श्रावण २०७८, शुक्रबार ११:०४

बुटवल । प्रत्येक श्रावण शुक्ल पञ्चमीको दिनलाई नाग पन्चमीको रूपमा मनाउने गरिन्छ । घरको मुल द्वार (ढोका) माथी नागको तस्बिर विधि पूर्वक पूजा गरि टासिन्छ । नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भय हुदैन भन्ने मान्यता रहेको छ । ज्योतिषशास्त्र- अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता,फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ । यस दिन देखि बर्षायाम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म ,तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो ,बिजुली र सर्पको डर समेत नहुने धार्मिक विश्वास रहेको छ । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नाग पञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन । नागपञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने शास्त्रीय मान्यता रहेको छ । सर्पले वायुमण्डलमा रहेको दुसित हावा ग्रहण गरि वातावरण शुद्ध गर्न पनि महत्त्वपूर्ण भुमिका खेल्छ भन्ने बैज्ञानिक मान्यता पनि छ ।

पौराणिक कथन अनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक , जरत्कारु र मनसादेवी सुपुत्रले अनुरोध गरे पछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।

त्यस्तै नाग पन्चमीका सम्बन्धमा अर्को एउटा किम्बदन्ती पनि छ । जस अनुसार प्राचिनकालमा एउटा किसानले आफ्नो बाली लगाउन खेतमा खन्दा माटो भित्र रहेका तीनवटा नागका बच्चाहरू काटिएर मरेछन् । त्यसपछि ती बच्चाहरूकि आमा नागिनीले थाहा पाए पछि किसानका घरमा गई उसका सबै परिवारलाई डसेर मारिदिएछ । त्यसबेला संयोगबश एउटी छोरी बाहिर कतै गएकिले उ मात्रै बाच्न सफल भइछ ।
त्यसपछि नागिनीले थाहा पएर ती कन्यालाई डसेर मार्न भन्दै अर्को दिन किसानको घरमा गएछ । त्यतिबेला कन्याले रूदै हात जोडेर बिलौना गर्दै माफी मागिन , म बाच्न पाउ,म तपाईलाई दूध पिलाउछु भन्दै रोई कराई गर्न थालिन् । अनि कचौरा भरी दूध ल्याएर नागिनीका अगाडी राखिदिईन्, नगिनीलाई पनि भोक प्यास र थकाई लागेको हुदा उसले त्यो दुध पिई र आफुलाई शान्त पारी, अनि ती कन्या लाई जीवन दान दिई। अनि उसले केही माग्नु छ भने माग म तिमीलाई बरदान दिन्छु भनी । किसानकी छोरीले आफ्ना मरेका सबै परिवारलाई पुन:बचाईदिन आग्रह गरिन् । त्यसपछि नागिनीले ती कन्याको आग्रह अनुसार मरेका सबै परिवारलाई जिवित परिदिइन् । पुनर्जीवन पाएका सबै सदस्य हर्षित हुँदै त्यस दिनबाट नाग देवताको पूजा आरधाना गर्न थाले । संयोग बस त्यो दिन श्रावण शुक्ल पन्चमी भएकाले त्यो दिनलाई नाग पञ्चमी भन्न थालियो । हरेक कृषकहरूले यो दिन नागको विशेष रूपमा पुजा गर्ने गर्द छन् ।

हिन्दुधर्मावलम्बीहरूले नागलाई शिव र विष्णुको प्रतिकको रूपमा मानेर पुजा गर्दछ्न् । शिवले आफ्नो गलामा नागको माला लगएका छ्न् भने विष्णु जलमाथी शेषनागको शैय्यामा फाडको छाता ओडी सुतेको देखिन्छ । त्यसैगरी कृष्णका दाई वलाराम र रामका भाई लक्ष्मण पनि शेषनागका अवतार मनिन्छ्न् । त्यसै गरि पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले पनि नाग कन्या सङ्ग विवाह गरेका थिए भन्ने कुरा पुराणहरूमा उल्लख गरिएको छ ।

तसर्थ यस आधारमा पनि नागको महत्त्व रहेको पुष्टि हुन्छ । जुन घरमा नागको बाँस हुन्छ , त्यो घरमा लक्ष्मीको पनि बाँस हुन्छ भन्ने बिश्वास रहेको छ । सर्प भूमिमा र जलमा बाँस गर्ने प्राणीलाई पनि सम्मान पुर्वक पूजा गर्ने परम्पराले पनि हाम्रो वैदिक धर्म सबै प्राणी प्रति सद्भाव राख्छ भन्ने पुष्टि हुन्छ । अर्को तर्फ नाग पञ्चमी पनि नेपाल कृषिप्रधान मुलुक भएको र नाग कृषकहरूले बढी मान्य देवता भएकाले नेपालको महत्त्वपूर्ण चाड अन्तर्गत नै पर्दछ ।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )