माझीरुपी गुरुहरुको सम्मानमा

अञ्जली खनाल
९ श्रावण २०७८, शनिबार ०९:४१

‘गुरु हुन् कार्यले माझी डुङ्गा तार्छन् निरन्तर
छुट्दछन् पसिना धारा यात्री उद्धार खातिर !’

युवाकवि देवी नेपालका यी शब्द सुन्दा या पढ्दा मलाई जहिल्यै मेरा माझीरुपी गुरुहरुको सम्झना हुन्छ । जसले जीवनभर ज्ञानरुपी डुङ्गा खियाएर म जस्ता हजारौँ अज्ञानीलाई अज्ञानको अन्धकारबाट ज्ञानको उज्यालो संसारमा पुर्याउनुभयो, ज्ञानरुपी समुद्रमा डुङ्गामा राखेर हजारौँलाई पार लगाउनुभयो र आफू भने जहिल्यै किनारको किनारमै रहिरहनुभयो, त्यस्ता गुरुहरुको सम्झना मात्रले मलाई बारम्बार नतमस्तक बनाइरहन्छ ।

संस्कृतमा ‘गुं ह्रावयतीति गुरु’ भनिँदो रहेछ । अर्थात् अज्ञानको अन्धकारलाई जसले हटाउँछ, त्यो नै गुरु हो । त्यसैले पनि गुरु शब्द जति पवित्र छ, त्यति नै पवित्र छ गुरुको काम । एउटा विद्यार्थी, एउटा अबुझ बालकमा जब गुरुले आफूभित्र भएको ज्ञानको उज्यालो छरिदिनुहुन्छ, तब गुरुले एउटा मात्र नभएर आगामी सयौँ पिँढीसम्मलाई पुग्नेगरी आफ्नो ज्ञानको ज्योति फैलाइरहनुभएको हुन्छ ।

सानैदेखि मलाई गुरुहरुले कक्षामा विभिन्न किसिमका पेसाबारे पढाउँदा, कुनचाहिँ पेसा सबैभन्दा ठूलाे हो भनेर सोधिन्थ्यो । साथीहरु डाक्टर, इन्जिनियर, पाइलट भन्नतर्फ लाग्थे भने मेरो दिमागमा चाहिँ खालि शिक्षण पेसा नै सबैभन्दा ठूलो हो भन्ने आउँथ्यो । आज पनि मलाई कसैले कुन चाहिँ पेसा सबैभन्दा ठूलाे हो भन्ने प्रश्न गरे भने म शिक्षण पेसा नै भन्छु, किनकि अरु जुनसुकै पेसा रोज्न वा जुनसुकै पेसामा लाग्न पनि शिक्षकबाट नै पढाइनुपर्छ र शिक्षकले मात्र हामीलाई त्यस पेसामा लाग्न चाहिने आवश्यक ज्ञान दिन सक्नुहुन्छ ।

कुनै बेला गुरुका अर्जुन जस्ता शिष्य थिए, तब गुरुहरुको मान, मर्यादा, प्रतिष्ठा सबै आफ्नो ठाउँमा थियो । गुरुलाई समाजमा सबैभन्दा ठूलाे दर्जा दिइन्थ्यो । शिष्यका लागि गुरु भगवानभन्दा पनि बढी महत्त्वपूर्ण थिए । गुरुको आज्ञा भुइँमा झर्न नपाउँदै विद्यार्थीहरु गुरुको आज्ञा पूरा गर्न दौडिन्थे । जहाँ एकलव्य जस्ता शिष्य पनि थिए, जसले आफ्ना बारेमा केही नसोची, सिर्फ गुरुलाई गुरुदक्षिणा दिनकै लागि आफ्नो बुढीऔँला काटेर दिएका थिए । गुरुको अनादर गर्नु भनेको निकै ठूलाे पापको भागीदार हुनु हो भन्ने सोच्ने त्यस युगबाट अहिले मजाकको घुम्टो ओढाएर शिक्षकहरुमाथि गरिने अपमानजनक व्यवहारसम्म आइपुग्दा समाजमा गुरुको महत्व निकै घटेको देख्न सकिन्छ ।

आफ्ना बुबा शिक्षण पेसामा लागेको भएर हो कि, आफूलाई सानैदेखि शिक्षण पेसाले नै तानेको भएर हो, शिक्षक र शिक्षण संस्थाप्रति मलाई सानैदेखि एक किसिमको लगाब थियो । एसएलसी सक्नासाथ बाबासँगै बाबाले पढाउने स्कुलमा गएर विद्यार्थीसँग खेलेर बस्दा मलाई निकै आनन्द आउँथ्यो । शिक्षक हुनु यस्तो पो रहेछ, शिक्षकले एक विद्यार्थीको जीवनमा त यत्रो भूमिका खेल्दा रहेछन् जस्ता कुरा मेरो पहिलो दिनको काममै मैले महसुस गरेको थिएँ ।

१३ वर्षको स्कुले जीवनभरि महसुस नभएको कुरा एक दिन शिक्षकको भूमिकामा कक्षामा छिर्दा मैले महसुस गरेको थिएँ । पहिलोचोटि कसैले ‘मिस’ भनेर बोलाएको त्यो क्षण अझै पनि मेरो कानमा गुन्जी नै रहेको छ । त्यस समय मलाई मेरा शिक्षकले अल्जेब्रा र बायोलोजी मात्र नसिकाइ मेरो जीवनमा आफ्नो खुट्टामा उभिएर आफ्नो पहिचान बनाउन सक्ने खुबीको पनि विकास गरिदिनुभएको रहेछ भन्ने महसुस भएको थियो । त्यस समय स्कुल पढुञ्जेल जुन शिक्षक फिटिक्कै मन पर्नुहुन्नथ्यो, उहाँका लागि पनि मनैदेखि एक किसिमको सम्मान र आदर जागेर आयो, उहाँले कुट्दै, गाली गर्दै, मेरै लागि भनेका कुराहरु सम्झनामा आए ।

अहिले बिस्तारै विद्यार्थीका तर्फबाट गुरु अथवा शिक्षक शिक्षिकामाथि गरिने व्यवहारमा निकै परिवर्तन आएको देख्न सकिन्छ । गुरुको मजाक बनाउने चलन त निकै पहिल्यै चलिआएको हो, म आफैँ स्कुलमा पढ्दाखेरि शिक्षकका लागि अरुले राखिदिएका अनेक किसिमका नामले बोलाउँदा रमाइलो लाग्थ्यो । ‘ओइ, चुप लाग्, टाउके आउँदै छ’, ‘ओइ, आज त चस्मेको क्लास होइन ?’ यस्ता त गुरुहरुलाई गरिने सामान्य किसिमका अपमान थिए । अहिले यो सब लेखिरहँदा मैले आफैँले पनि यी सब कहिल्यै नगरेको या नभनेको भने होइन । तर, आफ्नै बुबा शिक्षक भएकाले पो हो कि, हरेक पटक यसरी कुनै गुरुको अपमान गरेपछि मनमा भने झल्झली आफ्नै बुबाको तस्बिर घुम्न थाल्थ्यो, यदि यो सब कुरा बाबाले थाहा पाउनुभयो भने मेरा बारेमा के सोच्नुहुँदो हो भन्ने डर लागिरहन्थ्यो । तर, त्यस समय जानी नजानी गुरुलाई गरेको अपमानले अहिले पनि मलाई कताकता ग्लानिबोध भइरहन्छ । आज पनि तिनै शिक्षकसित जम्काभेट हुन्छ, तब आफैँदेखि लाज लागेर आउँछ । अहिले महसुस हुन्छ, त्यस समय मैले गरेका त्यस्ता अपमानले गुरुको नभएर मेरो आफ्नै अपमान भइरहेको रहेछ, गुरुलाई भन्दा मलाई आफैँलाई लाज हुनुपर्ने विषय रहेछ त्यो त !

केही समयअघि मैले फेसबुकमा एउटा खबर पढेको थिएँ । भारतका एक जना शिक्षकमाथि अनलाइन कक्षा लिने बेलामा उनका विद्यार्थीले अपाच्य शैलीमा दुर्व्यवहार गरेका थिए रे ! त्यसबाट उनले आफूले जीवनभरि कमाएको इज्जत एकै क्षणमा मेटिएको र आफ्नो औचित्य नै नरहेको जस्तो महसुस गरेको कुरा लेखिएको थियो । अहिले कोरोना महामारीका कारण लगभग सबै जस्तो शैक्षिक संस्थाले अनलाइनका माध्यमबाट विद्यार्थीलाई पढाउन थालेका छन् । हरेक दिन बिहानदेखि बेलुकासम्म त्यही कम्प्युटरको स्क्रिनमा हेरेर, घाँटी सुक्नेगरी बोलेर, विद्यार्थीले बुझे या बुझेनन् भन्ने पनि थाहा नपाउने प्रणालीबाट पढाउन जतिसुकै नयाँ टेक्नोलोजीमा पोख्त भएका शिक्षकका लागि पनि कठिन छ । आफैँले पनि विद्यार्थी र शिक्षक दुवैको भूमिकामा यो प्रविधिको प्रयोग गरेकाले मैले कसलाई सबैभन्दा कठिन हुन्छ भन्ने बुझेकी छु ।

विद्यार्थीलाई पढाउन शिक्षकले जति मिहिनेत विद्यालयमा गर्नुहुन्छ, त्यसको ५ गुणा बढी मिहिनेत उहाँले अनलाइन पढाउन गर्नुपर्छ । विद्यार्थी त कक्षा ज्वाइन गरेर माइक र क्यामेरा अफ गरेर सुते पनि क्लास रेकर्ड गर्न मिल्ने विकल्पले पछि दोहोर्याएर सुन्न या पढ्न पनि सक्छन् । तर, शिक्षकलाई त्यस्तो कुनै सुविधा उपलब्ध छैन, आफूले दैनिक गर्नेभन्दा बढी मिहिनेत गरेर अनलाइनबाटै कापी जाँचेर बिहान उठेदेखि सुत्ने वेलासम्म त्यही कम्प्युटर स्क्रिन अगाडि आँखा टट्टाउञ्जेल बस्दा पनि शिक्षकले गर्ने मिहिनेतको कदर छैन यहाँ । अहिले अनलाइन अथवा विद्यालयमै बोलाएर पढाइने तरिका नै किन नहोस्, जताततै मजाकको घुम्टो ओढाएर शिक्षकमाथि गरिने दुर्व्यवहार बढ्दो छ।

समाजले त अचेल गुरुलाई मान्छे नै गन्न छाडिसकेको छ । शिक्षण पेसालाई पेसा नै नगन्ने र आफ्ना सन्तान झुक्किएर पनि शिक्षण पेसामा नलागुन् भन्ने चाहना राख्ने धेरै परिवार छन् यहाँ । अरु काम गरेपछि महिना बित्नासाथ तलब खोज्ने कर्मचारी आफ्ना सन्तानका शिक्षकले भने यत्तिकै उनीहरुका सन्तानलाई पढाउन बसेका हुन् जस्तो व्यवहार गर्छन् । अझै पैसा बटुल्न बसेका, पैसाबिना मरिगएका भन्ने जस्ता आरोपको पनि सामना गर्नुपर्छ । खानलाउन सबैलाई पर्छ, शिक्षकका पनि परिवार हुन्छन्, शिक्षकको पनि मन हुन्छ, उनीहरुले पनि पेट पाल्नुपर्छ भनेर हाम्रो समाजले सायद बिर्सिँदै गएको छ । विद्यालय खुलेको छैन तर शुल्कचाहिँ दिनुपर्छ भन्ने आक्रोश फेसबुकमा म जताततै देखिरहेकी हुन्छु, तर जब विद्यार्थीलाई हरेक दिन पढाउँदै जाँच लिँदै, कक्षा चढाइरहिएको छ, तब शिक्षकले पनि विद्यालयमा पढाएसरह नै पढाइरहेको र विद्यार्थीले पनि विद्यालय गएसरह नै शिक्षा पाइरहेको धेरैजसोले बुझ्दैनन् ।

तर, आज यहाँ शिक्षण पेसा र त्यसको आम्दानीभन्दा पनि शिक्षण पेसाप्रति गरिने अभद्र व्यवहार र शिक्षकप्रति विद्यार्थी र समाजले गर्ने अपमानले हाम्रो समाज बिस्तारै कतातिर जाँदै छ भन्ने बुझ्न जरुरी छ । ‘प्य्राङ्क’ गर्नुपरे म पनि पछि हट्दिनँ, तर हाम्रो कुनै मजाकले यदि कसैलाई मानसिक या शारीरिक रुपमा नोक्सानी पुर्याउँछ भने त्यो मजाक, मजाक रहँदैन । अहिलेको पुस्ताले मलाई ‘ब्रुमर’ को दर्जा दिए पनि सबै किसिमको मजाक जबसम्म जसमाथि त्यो मजाक गरिँदै छ, उसलाई नराम्रो लाग्दैन, अथवा जबसम्म त्यसले उसलाई कुनै किसिमको हानि पुर्याउँदैन, तबसम्म त्यसलाई मजाककै रुपमा लिन सकिन्छ, जब मजाक आफ्नो हदबाट बाहिर निस्किन्छ, तब त्यसले अपमान र दुर्व्यवहार रुप लिन्छ । सबैले आफूलाई नराम्रो लागेको कुरा भन्न पाउनुपर्छ । अरुलाई नराम्रो व्यवहार गर्नु या अरुलाई अप्ठ्यारो महसुस गराउनु गलत हो, एक किसिमको दुर्व्यवहार हो भन्ने बुझेको र यसै विषयमा चर्का आवाजसमेत उठाउने अहिलेको नयाँ पुस्ताले शिक्षकलाई नराम्रो भन्नु या उनीहरुमाथि मजाक गर्नु पनि दुर्व्यवहार हो भनेर बुझ्न जरुरी छ ।

गुरुपूर्णिमाको अवसरमा मलाई प्रत्यक्ष या अप्रत्यक्ष ज्ञान दिनुहुने माझीरुपी सम्पूर्ण गुरु–गुरुआमाहरुप्रति आफ्नो यसै आलेखमार्फत हार्दिकतापूर्वक नमन गर्दछु ।

उज्यालो बाट …….