सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल र मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङ खण्ड बन्द

बुलेटिन संवाददाता
२९ असार २०७८, मंगलवार १०:३०

बाग्लुङ – सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल र मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङ खण्ड बन्द भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको डुम्रेपुल नजिक गएराति पहिरो खसेपछि बाटो बन्द भएको हो । ठूला ढुङ्गासहितको पहिरो खसेको र हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

बाटो बन्द भएपछि सडकको दुवैतर्फ गाडी र यात्रु अलपत्र परेका छन् । यस्तै मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङ खण्ड ६ दिनदेखि बन्द छ । पर्वको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठूलाठूला ढुङ्गासहित आएको पहिराेका कारण बाटो बन्द भएको हो ।

लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोजे पनि नफुटेपछि सडक खुलाउन समस्या भएको छ । डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरी बाटो खुलाउनुपर्ने अवस्था आएको र नेपाली सेनालाई जिम्मा दिइएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

सेनाले हिजोदेखि विस्फोट गराएर पहिरो पन्छाउन थालेको छ । हिजो दिउँसो र बेलुका दुई पटक विष्फोट गराइएको भए पनि ढुङ्गा अझै नफुटेका कारण पन्छाउन नसकिएको पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो ।

पोखरा–बाग्लुङअन्तर्गत कुश्मा–बाग्लुङ सडक बन्द भएपछि कामचलाउ वैकल्पिक सडकका रूपमा साना गाडीले अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग गर्दै आएका छन् । ठूला मालवाहक गाडि बाग्लुङ, म्याग्दी र पर्वतमा नै रोकिएका छन् ।