महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई सम्मान

बुलेटिन संवाददाता
१५ असार २०७८, मंगलवार १९:०६

पाल्पा, १५ असार ।
बगनासकाली गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंमसेवीकाहरूको सम्मानजनक विदाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पा र बगनासकाली गाउँपालिकाको संयुक्त आयोजनामा भएको सम्मान कार्यक्रममा वडा नं. २ का ४ र वडा नं. ३ का ५ गरी ९ जना स्वयम् सेविकालाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ६० वर्ष उमेर अवधि पुगेका ८ जना र असक्तताको कारण जनाउने १ जनासहित ९ जना स्वास्थ्य स्वयमसेविकाहरूलाई सम्मान गरिएको वडा नं. २ का पोखराथोक स्वास्थ्य चौकीका इन्चार्ज सरोज काफ्लेले जानकारी दिनुभयो । सम्मानित स्वय्म सेविकालाई स्वास्थ्य कार्यालयले २० हजार र गाउँपालिकाले २४ हजार बराबर रकमबाट करकट्टी गरी नगद प्रदान गरेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जीवनका बाँकी समय सामाजिक क्षेत्रमा सक्रियता जनाउन सम्मानित स्वयंमसेविकाहरूलाई आग्रह गर्नुभयो । उहाँले कोभिड महामारिको समयमा स्वास्थ्य स्वयम सेविकाको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण समय स्वास्थ्य क्षेत्र सुधार तथा सामाजिक सेवाको क्षेत्रमा लगाउने स्वयम्सेविकाहरूको योगदानलाई गाउँपालिकाले सधैं सम्झने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, प्रवक्ता लक्ष्मी अधिकारी र वडा नं. १ का वडाध्यक्ष सोमबहादुर झेंडीले समुदायमा स्वास्थ्यकर्मीको राम्रो पहिचान रहेको भन्दै समुदायमा स्वतन्त्र रुपले सेवा गर्ने स्वयमसेविकाहरूको संलग्नता प्रसंसनीय रहेको भनाइ राख्नुभयो । सम्मानित स्वयमसेविका कल्पना रेग्मीले आफूले जानेबुझेको सेवा स्वास्थ्य क्षेत्रमा गरेको भन्दै आगामी दिनमा सामाजिक क्षेत्रमा सक्रिय रहने बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा सि.अ.न.मी सीता गौतमको स्वागत, स्वास्थ्य कार्यालय पाल्पाका लेखनाथ अर्यालको सञ्चालनका कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरे, वडा नं. २ र ३ का स्वास्थ्य चौकी इन्चार्ज र कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।