वीरगञ्जकी उपमेयर ९१ वर्षीया कार्कीले जितिन् कोरोना

बुलेटिन संवाददाता
६ जेष्ठ २०७८, बिहीबार १५:५४

वीरगञ्ज । कोरोना संक्रमित वृद्धवृद्धालाई बचाउन गाह्रो हुन्छ भन्ने आम धारणालाई वीरगञ्ज उपमहानगरपालिका उपप्रमुख सुश्री शान्ति कार्की (९१) ले गलत सावित गरिदिएकी छन् । कोरोनालाई परास्त गर्दै कार्की अस्पतालबाट घर फर्किएकी छन् ।

हिन्दू धर्ममा मृत्यु अगाडि गरिने दश दान कर्म पूरा गर्ने भनेर सामान समेत जोहो गरिसकेकी थिइन् उनले । ‘१० दान गराउने सामान बोकेर गएकी थिएँ । सामान फर्काएर ल्याउनुपर्‍यो,’ उनले हाँस्दै भनिन्, ‘खाली नाम र गोत्र दिएर ल दान गर्दिनुस् भन्थें । पण्डित नै पाइन र पो त !’

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहर आक्रामक देखिएको परिस्थितिमा ९१ वर्षीया संक्रमितले कोरोना जित्नु चानचुने कुरा थिएन । त्यसैले उनलाई बधाई सन्देशसहितका फोन रिसिभ गर्न भ्याइनभ्याइ छ । उनी भन्छिन्, ‘कोरोनाले भन्दा मोबाइलले पो हैरान पार्‍यो ।’

कार्की अविवाहित छिन् । आफ्नो घर नभएकाले अरुको घरमा बस्छिन् । महानगरपालिकाले दिएको सुविधाको गाडी नचढेर उनी प्रायः पैदलै हिंडेको देखिन्छ । चिनेजानेका प्रायः सबैले उनलाई ‘शान्ति दिदी’ भनेर बोलाउँछन् ।

कोरोनाको हटस्पट वीरगञ्जमा भौतिक दुरी कायम गर्न जनप्रतिनिधिलाई गाह्रो छ । जनप्रतिनिधिलाई देखे भने स्थानीयले आफ्ना समस्या र गुनासा सुनाउन घेरिहाल्छन् । कसैले बोलाएको ठाउँमा गइदिने, उनीहरुका समस्या सुनिदिने र समाधानको पहल गर्ने काम गर्दागर्दै उनी संक्रमित भइन् । ‘भिडभाडमा जान्न भनेर सुखै हुँदैन, वैशाख २२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो,’ उनले सुनाइन् ।