आधा घण्टा अक्सिजन बन्द हुदा बुटवलको कोरोना विशेष अस्पतालमा ५ जना संक्रमितको मृत्यु

बुलेटिन संवाददाता
२९ बैशाख २०७८, बुधबार १६:५८

बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा अक्सिजन सकिएर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको सहायतामा उपचार भईरहेका ती संक्रमितहरुलाई दिईरहेकोअक्सिजन सकिएपछि अक्सिजन लिन नपाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अक्सिजन सकिएको सुचना गर्दापनि समयमा अक्सिजन अस्पताल पुग्न नसक्दा बेडमा रहेका संक्रमितहरुलाई आधा घण्टा अक्सिजन दिन नसकिएको लुम्बिनी अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मृत्यु हुनेमा बुटवल उपमहानगरका ४ जना र नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल ११ का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षिय पुरुष, बुटवल १२ की ५९ वर्षिया महिला र बुटवल १३ का ५२ वर्षिय पुरुष रहेका छन् । अक्सिजन नै नपाएर बर्दघाटका ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा आज बिहान आउनु पर्ने अक्सिजनको सिलिण्डर समयमा आउन नसक्दा आधा घण्टा अक्सिजन दिन नसकिएको र सोहि समेयमा उपचाररत संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा केहिबेर अगाडी मात्र अक्सिजन सिलिण्डर झरेको छ ।