बुटवलका एक वडा सदस्यले अस्पतालको शय्या नपाएर एम्बुलेन्समै ज्यान गुमाए

बुलेटिन संवाददाता
२४ बैशाख २०७८, शुक्रबार ११:१४

बुटवल । बुटवल उपमहानगरपालिका- ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै गयराती मृत्यु भएको छ । नेकपा एमालेको वडाध्यक्ष समेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होमआइसोलेसनमा थिए ।

‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो, हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू,भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै निधन भयो, सोही वडाका युवा नेता बिकासजंग बस्नेतले भने । वडाध्यक्ष कमलप्रताप थापाले समयमै उपचार नपाएका कारण नविनको मृत्यु भएको बताए । नविनका श्रीमती र १ छोरी छन् ।