बगनासकालीका जनप्रतिनिधि कुमाल वस्तीमा

भोजराज भट्टराई
२३ बैशाख २०७८, बिहीबार ०९:१५

पाल्पा  । समुदायस्तरमा कोभिड संक्रमणको हल्ला फैलिएपछि वास्तविक अवस्था वुझ्न बगनासकाली गाउँपालिकाका जनप्रतिनिधि कुमाल वस्तीमा पुगेका छन् । बुधबार वडा नं. २ को कुमाल वस्तीमा जोखिम उच्च रहेको हल्ला बाहिरिए लगत्तै कार्यपालिका बैठकमा जुटेका जनप्रतिनिधिहरूको टोली सञ्चारकर्मी, स्वास्थ्यकर्मीसहित समुदायस्तरमा पुगेको हो ।

‘केही मिडियाबाट उच्चदरमा समुदाय संक्रमित भएको भन्ने खबर बाहिरिएपछि समुदायको अवस्था बुझ्न स्थलगत अवलोकनमा निस्किएका हौं ।’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले भन्नुभयो, ‘फिल्डमै पुगेर अनुगमन गर्दा जनजीवन सामान्य रहेको पाइयो ।’
वडा नं. २ माझगाउँकी ३५ वर्षीय रिता कुमालले चारपाँच दिन माझगाउँ वस्तीका ९ घरका केही व्यक्तिमा सामान्य ज्वरोको लक्षण देखिएको बताइन । ‘साता अघि यहाँका सवैजसो घरका व्यक्तिमा अलिअलि ज्वरो आएको थियो, अहिले सवैलाई ठिकै छ ।’ सोही ठाउँकी ४० वर्षीय विरुमान कुमालले सामान्य खोकी लागेको बताए ।

वडा २ को डहरपारी, हडियाकुना, माझघर र बेलगैरामा गरी १०० घर कुमाल वस्ती रहेकोमा १० घरका व्यक्तिमा मात्र रुघाखोकी र ज्वरोको लक्षण देखिएको सोही वडाकै वडासदस्य राजेन्द्र रानाले जानकारी दिनुभयो । ‘रुघाखोकी, ज्वरोका विरामीलाई पिसिआर गर्नको लागि अनुरोधसहित म घरैपिच्छे अवस्था बुझ्दै हिंडेको छु ।’ उहाँले संकलन गरिएका व्यक्तिको गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पिसिआर चेक गरिने बताउनुभयो ।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी, वडा नं. ३ का वडाअध्यक्ष टिका थापा, कार्यपालिका सदस्य सिता रोकाहा, वडा सदस्य राजेन्द्र राना, पत्रकार भोजराज भट्टराई, स्वास्थ्य शाखाकी अहेव उमा भट्टराईसहितको टोली आवश्यक स्वास्थ्य सामग्री सहित कुमाल वस्तीमा पुगेको थियो ।

यसैबीच जनप्रनितिधिहरूले पोखराथोक २ स्थित कोभिड अस्पतालमा रहेका विरामी र अस्पतालको व्यवस्थापनको अवस्थाबारेमा समेत स्थलगत अवलोकन गरेका थिए । वडा नं. २ को कोभिड अस्पतालमा १० जना क्षमताको सहितको पूर्वाधार तयार गरिएको सेवारत स्वास्थ्यकर्मी जिवलाल बस्यालले बताउनुभयो । हाल उक्त अस्पतालमा २ जना कोभिड–१९ संक्रमितले अस्पतालबाट उपचार लिएका छन् ।

बुधबारसम्म बगनासकाली गाउँपालिकामा ३८ जना संक्रमित रहेको प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले संक्रमितको अवस्था बुझेर आवश्यक उपचारको प्रवन्ध मिलाएको बताउनुभयो । जिल्लामा बुधबारसम्म संक्रमितको संख्या २ हजार ७७१ पुगेको छ । जसमध्ये ६६३ सक्रिय संक्रमित छन् । सक्रीय संक्रमित मध्ये ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हालसम्म संक्रमित २ हजार ७ सय ७१ मध्ये २०९५ जना निको भएर घर फर्किसकेका छन् ।