कोरोनाको दोस्रो लहरः भारतले गरेका गल्तीहरु

बुलेटिन संवाददाता
१३ बैशाख २०७८, सोमबार ११:२१

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार भारतमा ३ लाख ४९ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या विश्वभर एकैदिनमा थपिने कोरोना संक्रमित संख्याको करिब एक तिहाइ हो ।

कोरोनाको दोस्रो लहर अहिले भारतभर फैलिएको छ । केही राज्यले कोरोना संक्रमण नियन्त्रणको लागि सामाजिक गतिविधिमा कडाइ गर्ने नियमहरु ल्याएका छन् । तर, संक्रमण भने दिनानुदिन बढ्दो छ ।

संक्रमण ह्वात्तै बढेसँगै भारतमा स्वास्थ्य संकट पनि देखिएको छ । विशेषगरी अहिले भारतमा अक्सिजन अभाव, आईसीयू बेडको अभाव तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव देखिएको छ ।

भारतको स्वास्थ्य संकट

भारतको राजधानी सहर दिल्लीको जैपुर अस्पतालमा शुक्रबार राति अक्सिजन अपूर्ति बन्द हुँदा २० बिरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसको अघिल्लो दिन दिल्लीकै गंगाराम अस्पतालमा अक्सिजनको आपूर्ति पर्याप्त हुन नसक्दा २५ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको थियो ।

यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन् । अहिले भारतका धेरै राज्यका अस्पताल र स्वास्थ्य केन्द्रहरुमा अक्सिजन अभाव छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु हुनेको संख्यासँगै अक्सिजन तथा अन्य स्वास्थ्य सेवा नपाएको कारण मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ ।

भारतमा यो समस्या आएको पहिलोपटक होइन । यसअघि गत सेप्टेम्बरमा पहिलो लहर उत्कर्षमा पुग्दा पनि भारतमा अक्सिजन तथा आईसीयू बेडको अभाव देखिएको थियो । त्यतिबेला अस्थायीरुपमा बेडको व्यवस्था गरिएको थियो भने मेडिकल क्षेत्रमा अक्सिजन आपूर्ति बढाइएको थियो । स्थायीरुपमा भने यो समस्या समाधान गरिएको थिएन ।

पहिलो लहरको उच्च विन्दुमा पुगेको अवस्थामा दैनिक ९० हजारको हाराहारीमा कोरोना संक्रमित फेला परेका थिए । तर, अहिले यो संख्या चार गुणा बढिसकेको छ । त्यसैले अस्पतालमा पनि स्वाभाविकरुपमा बिरामीको संख्या बढेको छ । बिरामीको संख्यालाई ध्यानमा राख्दै औद्योगिक क्षेत्रमा दिइने अक्सिजन घटाएर मेडिकल क्षेत्रतर्फको आपूर्ति बढाइएको छ ।

यद्यपि मेडिकल क्षेत्रमा अक्सिजन आपूर्ति २७ सय मेट्रिक टनबाट बढाएर ७५ सय मेट्रिक टनमा पुर्‍याउँदा पनि यसले माग भने धान्न सकेको छैन ।

कहाँ चुक्यो भारत ?

सरकारकै कमजोरीको कारण भारतमा कोरोनाको दोस्रो लहर चलिरहेको आरोप आलोचकले लगाउँदै आएका छन् । कोरोनाको दोस्रो लहर रोक्न भारत असफल हुनुका केही कारणहरु यस्ता छन् –

१. चाडपर्वमा भिड हुन दिनु

भारतमा गत वर्ष कोरोना संक्रमण भर्खर सुरु भएको अवस्थामा लामो समयसम्म निकै कडा लकडाउन गरिएको थियो । तर, सेप्टेम्बरबाट बिस्तारै दैनिक संक्रमितको संख्या घट्न थालेपछि सामाजिक प्रतिबन्धका नियमहरु खुकुलो भए ।

त्यसपछि भारतमा पर्वहरुको मौसम सुरु भयो । सरकारले पर्वहरु मनाउन रोक्ने कुनै निर्णय गरेन । धेरै मानिसहरुले एकै ठाउँमा भेला भएर पर्वहरु मनाए । सबैभन्दा धेरै मानिसहरु भेला हुन सक्ने भन्दै यस वर्ष सरकारलाई स्वास्थ्य विशेषज्ञहरुले कुम्भ मेला आयोजना नगर्न आग्रह गरेका थिए ।

तर, सरकारले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर कुम्भ मेला गर्न सकिने निर्णय गर्‍यो । कुम्भ मेला सुरु भएपछि भने उक्त मेलामा कुनै पनि जनस्वास्थ्यको नियम पालना भएन । लाखौं मानिसहरु सहभागी भएको उक्त मेलामा गएका धेरैमा कोरोना संक्रमण देखिएको थियो । यो मेलाले भारतमा कोरोना संक्रमण फैलाउन ठूलो भूमिका खेलेको विशेषज्ञहरुले बताएका छन् ।

चाडपर्वका साथै भारतमा यही बीचमा विवाह लगायतका ठूल ठूला सामाजिक उत्सवका कार्यहरु पनि आयोजना भएका थिए ।

२. निर्वाचन र्‍याली तथा खेलकूद

दोस्रो लहर फैलिनुमा भारत सरकारले निर्वाचन र्‍याली र मुलुकमा आयोजना भएको खेलकूद प्रतियोगितामा दर्शकलाई विना कुनै प्रतिबन्ध अनुमति दिनु पनि हो ।

गत फेब्रुअरीको अन्तिममा भारतको निर्वाचन आयोगले पाँच राज्यमा निर्वाचनको घोषणा गर्‍यो । निर्वाचन घोषणा गरेका पाँच राज्यको जनसंख्या १८ करोड ६० लाख छ । ८२४ सिटका लागि घोषणा गरिएको निर्वाचन मार्च २७ मा सुरु भएको थियो । यो निर्वाचन मंगलबार सकिनेछ । पश्चिम बंगालमा मंगलबार आठौं चरणको निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक पार्टीहरु निर्वाचन प्रचारमा जुटेका थिए । सरकारले निर्वाचन र्‍यालीमा कुनै रोकतोक गरेन र निर्वाचन र्‍यालीमा कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक भौतिक दूरी तथा मास्क लगाउनु पर्ने जस्ता नियमको पालना भएन ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफैं हजारौं मानिस जम्मा गरेर र्‍यालीमा सहभागी भइरहेका थिए । निर्वाचन र्‍यालीमा मोदी सहभागी हुँदा त्यहाँ उपस्थित कसैले पनि मास्कसमेत लगाएका थिएनन् । मोदीले पनि निर्धक्क भएर उनीहरुलाई सम्बोधन गरेका थिए ।

बिश्लेषकहरुका अनुसार, भारत सरकारको अर्को गल्ती ठूला खेलकूद प्रतियोगितामा दर्शकहरुलाई विना कुनै मापदण्ड उपस्थित हुन अनुमति दिनु पनि हो । गत मार्चको मध्यमा भारतमा इंगल्याण्ड र भारतबीच क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा सरकारले समर्थकहरुलाई पनि स्टेडियममा गएर खेल हेर्ने अनुमति दिएको थियो । १ लाख ३० हजारभन्दा धेरै दर्शकले उक्त हेरेका थिए । उनीहरु मध्ये अधिकांशले मास्क लगाएका थिएनन् । त्यहाँ भौतिक दूरी पालना हुने कुनै सम्भावना नै थिएन ।

३. जनस्वास्थ्य नियम कार्यान्वयन तथा सचेतनाको कमी

भारतमा गत सेप्टम्बरपछि बिस्तारै संक्रमित हुनेको संख्यामा कमी आएको थियो । त्यसपछि मानिसहरुले मास्क लगाउने, भौतिक दुरी पालना गर्ने लगायतका जनस्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्न थाले ।

सरकारले उनीहरुलाई उक्त मापदण्ड पालना गराउन कुनै ठोस कदम चालेन र अर्को लहर आउन सक्ने चेतावनी दिएर सचेत पार्ने काम पनि गरेन । ठीक उल्टो सत्तारुढ दलका नेताहरु नै आफैं निर्वाचन र्‍यालीमा सहभागी हुन वा धार्मिक भिडमा सहभागी हुन मानिसहरुलाई प्ररित गर्न थाले ।

४. पर्याप्त तयारीको अभाव

भारतले पहिलो लहर उत्कर्षमा पुग्दा एकपटक स्वास्थ्य संकटको सामना गरिसकेको थियो । यस्तोमा उसले दोस्रो लहर आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कुनै थप तयारी गरेन । संक्रमित संख्या घटेर अस्पतालमा दबाब कम भए पछि सरकार ढुक्क देखियो ।

तर पछिल्ला दिनमा अकस्मात संक्रमित संख्या बढ्ने बित्तिकै स्वास्थ्य संकट देखापर्‍यो । आइतबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकभर ५५१ अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेका छन् ।

यसअघि सरकारले १६२ अक्सिजन प्लान्ट बनाउने योजना बनाएको थियो । तर, अहिलेसम्म जम्मा ३३ ओटा प्लान्ट मात्र बनेका छन् भने ५९ प्लान्ट अबको केही समयमा बनिसक्ने अनुमान छ । यी प्लान्टको निर्माण कोरोना संक्रमणसँगै चासो पनि घटेकाले समयमा नसकिएको भारतीय अधिकारीहरुको भनाइ छ ।

भारतमा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) देखिएसँगै त्यसलाई रोक्न प्रभावकारी कदम चाल्ने र मानिसहरुलाई सतर्क गराउने काममा सरकार चुकेको आरोप बिश्लेषकहरुको छ । जसको कारण भारतका विभिन्न राज्यमा अहिले कोरोनाका नयाँ भेरियन्टहरुको संक्रमण उल्लेख्य देखिएको छ । भेरियन्टको असर युवा तथा बालबालिकामा पनि धेरै देखिएकाले संक्रमण तीव्र गतिमा फैलिएको विशेषज्ञहरुले बताएका छन् ।

५. सुस्त खोप अभियान

विश्वको सबैभन्दा ठूलो खोप उत्पादक मुलुकको रुपमा चिनिने भारत कोरोना खोप सञ्चालन गर्ने मामिलामा भने पछि परेको छ । मुलुकमा कोरोना खोपलाई अनुमति दिन नै लामो समय लगाएको आरोप खेपिरहेको भारतले त्यसपछि पनि खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गर्न सकेन ।

भारतीय प्रधानमन्त्रीले सुरुसुरुमा विश्वको लागि भारत खोपको फार्मेसी भएको बताए पनि अहिले भारत आफैं खोप आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । अहिले भारतमा भन्दा धेरै खोप अमेरिका र चीनमा उत्पादन भइरहेको छ । भारतको आग्रहमा अमेरिकाले खोपमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । भारतले रुसबाट पनि खोप आयात गरिरहेको छ । भारतले आफ्नो मुलुकबाट अन्यत्र हुने निर्यात पनि रोकेको छ ।