भारतमा कोरोनाविरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट

बुलेटिन संवाददाता
१२ बैशाख २०७८, आईतवार १०:२९

काठमाण्डाै – भारत सरकारले कोभिड-१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने भएको छ ।

कोभिड-१९ विरुद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय भएको भारतको सङ्घीय वित्त मन्त्रालयले जनाएको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने निर्णय गरेको छ ।

पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको र अक्सिजन अभावका कारण बिरामीको ज्यान जाने अवस्था आएसँगै भारत सरकारले यस्तो निर्णय गरेको हो ।

भारतमा हरेक दिन थपिने र ज्यान गुमाउने कोरोना सङ्क्रमितले नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा साढे ३ लाख सङ्क्रमित थपिएका छन् । यस्तै एकैदिन २ हजार ७ सय ७१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ९२ हजार ३ सय १० पुगेको छ ।