दिल्लीमा अक्सिजन अभाव : २५ जनाको ज्यान गयो, ६० जनाकाे ज्यान उच्च जोखिममा

बुलेटिन संवाददाता
१० बैशाख २०७८, शुक्रबार १०:३८

काठमाण्डाै – भारतको दिल्लीमा अक्सिजन अभाव बढ्दै गएको छ ।

अक्सिजन नपाउँदा २५ जना बिरामीको ज्यान गएको पाइएको छ भने ६० जना ज्यान उच्च जोखिममा परेको दिल्लीको सर गंगाराम अस्पतालका निर्देशकले बताएका बीबीसी हिन्दीले जनाएको छ ।

अस्पतालले अक्सिजन नहुँदा ६० जना गम्भीर बिरामी खतरामा परेका जनाएको छ । गएको २४ घण्टामा यो अस्पतालमा २५ जना बिरामीको  ज्यान गएको छ । उनीहरुलाई अक्सिजनको अभाव भएको स्रोतलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ ।

अस्पतालका निर्देशकले अब आफूहरुसँग दुई घण्टालाई मात्रै पुग्ने अक्सिजन रहेको पनि बताएका छन् । उनले अस्पतालमा रहेका भेन्टिलेटरले काम गर्न छोडेको पनि बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीका अस्पतालहरु बिरामीले भरिएका छन् ।

गएको  २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने यो अवधिमा २ हजार २ सय ५६ जनाको ज्यान गएको छ ।