त्रिदेशीय टी–२० शृङ्खला : नेदरल्याण्ड्सले मलेसियालाई दियो एक सय आठ रनको लक्ष्य

बुलेटिन संवाददाता
८ बैशाख २०७८, बुधबार १५:३९

काठमाण्डाै – त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्सले मलेसियालाई एक सय आठ रनको लक्ष्य दिएको छ ।

पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्डले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए ।

नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । पानीले खेल प्रभावित भएपछि १३ ओभरमा छोट्याइएको हो ।

आज नेदरल्याण्ड्स विजयी भएमा फाइनल पुग्नेछ भने नेपाल पनि एक खेलअघि नै फाइनलमा जानेछ । आज हारेमा मलेसिया प्रतियोगिताबाट बाहिरिनेछ ।

नेपाल र नेदरल्याण्ड्सको समान चार/चार अङ्क छ भने मलेसियाले अङ्क जोड्न सकेको छैन ।