बगनासकाली बन्यो फुसको छानोमुक्त गाउँपालिका

बुलेटिन संवाददाता
१३ फाल्गुन २०७७, बिहीबार १६:५९

फागुन १२, पाल्पा ।
बगनासकाली गाउँपालिका फुसको छाना रहित गाउँपालिका घोषणा भएको छ । बुधबार पालिकामा एक समारोहको आयोजना गरी पालिकालाई फुसरहित पालिका घोषणा गरिएको हो ।

यस अभियासनमा यो गाउँपालिका जिल्लाकै पहिलो बनेको छ । २०७४ सालदेखि सुरु भएको फुसको छानो रहित अभियान गत वर्ष सकिएको थियो । तर, कोरोनाका कारण घोषणा गर्न ढिलाई भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । उहाँका अनुसार अनुसार २५२ घरलाई जस्तापाता सहयोग गरिएको छ । यससँगै सिँगो गाउँपालिका फुसको छानो रहित बनेको छ ।

वडाबाट फुसको छाना भएको घरको विवरण लिएर जस्तापाता उपलब्ध गराएको बश्यालले बताउनुभयो । ७५६ बन्डल जस्तापाता वितरण गरिएको छ । ६९ लाख रुपैँया बराबरको जस्तापाता वितरण गरिएको जानकारी दिनुभयो । पानी चुहिने घरमा बस्नुपर्ने यहाँका नागरिकको बाध्यता टरेको उहाँले बताउनुभयो ।
तीन आर्थिक वर्षमा यो अभियान सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४।०७५ मा १५ लाख, २०७५।०७६ मा १५ लाख र २०७६।०७७ मा ३९ लाख बजेट विनियोजन गरेर फुसको छाना हटाउने अभियान थालिएको थियो । घिमिरे भन्नुहुन्छ्, ‘अब गाउँपालिकामा फुसले छाएका घर छैनन् ।’

यहाँका विपन्न तथा गरिब नागरिकलाई ओतमा राख्ने कामलाई पहिलो प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । आगलागी र हावाहुरीले फुसको छाना उडाइदिने समस्या भएकाले जस्तापाता वितरण गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा यी नागरिकलाई अर्थोपार्जनमा जोड्ने विशेष खालका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो ।

सो अवसरमा सहभागी पत्रकारहरू कृष्ण कार्की, विष्णु घिमिरे, माधव अर्याल, यज्ञमूर्ति तिमिल्सिना, नारायण न्यौपाने, कृष्ण पोखरेलले फुसको छानारहित पालिकासँगै आर्थिक आर्जनका गतिविधिमा केन्द्रीत रहेर बजेट तथा योजना तयार गर्न सुझाव दिनुभयो । फुसको छाना रहित पालिका घोषणा कार्यक्रमका अवसरमा गाउँपालकाको त्रैमासिक बुलेटिन बगनासकाली आवाजको स्वास्थ्य विशेषाङ्क समेत विमोचन गरिको थियो । स्वास्थ्य शाखा प्रमुख एव्म प्रधान सम्पादक मणिराम अधिकारीले बुलेटिन पालिकाको आवाज भएकोले सरोकारवाहरूको सहयोग आवश्यक हुने भन्दै रचनात्मक सहयोग, सुझाव अनुसार बुलेटिनलाई परिस्कृत बनाउँदै लगिने बताउनुभयो । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षतामा चलेको घोषणा सभाको सञ्चालन पञ्जीकरण सेवा इकाई संयोजक भोजराज भट्टराईले गर्नुभएको थियो ।