साईन रेसुङ्गा बैंक १३ वर्षमा प्रवेश

बुलेटिन संवाददाता
११ फाल्गुन २०७७, मंगलवार ०७:२४

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा विकास बैंक स्थापनाको १३ वर्षमा प्रवेश गरेको छ । बैंकले बुटवल कालिकानगरमा करिब २० करोडको लगानीमा सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरेको छ । बैंक स्थापनाको १२ वर्ष पुरा भएर १३ औं वर्ष पुगेको अवसरमा बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश हुँदै राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बैंकका कार्यकारी अधिकृत प्रकाश पौडेलले ११ जना कर्मचारीबाट २०६५ सालमा स्थापना भएको रेसुङ्गा विकास बैंकले १२ वर्ष पुरा हुंदा साईन रेसुङ्गा बैंक बन्दै ७ सय ७५ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको जानकारी दिनुभयो । कार्यकारी अधिकृत पौडेलले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै पूँजी,शाखा,ग्राहक र ऋणि भएको बैंकका रुपमा अग्रस्थानमा रहि राष्ट्रिय स्तरमा अग्रणी विकास बैंक बनेको दाबी गर्नुभयो।

पौडेलले आगामी दिनमा समग्र बैंकिङ्ग क्षेत्रसँग प्रतिष्पर्धा गर्ने योजना रहेको बताउनुभयो । देशभरका ९० वटा विकास बैंकबाट मर्जर र एक्विजिसन हुदै देशभर अहिले १८ वटा विकास बैँक रहेको भन्दै आफूहरु अग्रणी बन्ने दाबि गर्नुभयो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले समय सापेक्ष सुविधा प्रदान गर्दै प्रविधिमैत्री सेवालाई पनि विस्तार गर्दै अघि बढ्ने बताउनुभयो । लुम्बिनी प्रदेशका १० जिल्लामा ६८ वटा शाखा रहेको बैंकका अन्य विभिन्न प्रदेश तथा स्थानमा गरी ७३ वटा शाखाहरु रहेका छन् । बैंकले डिजिटल बैंकिङ्लाई अगाडी बढाउने जनाएको छ ।

त्यसैगरी ६ करोड लागतबाट सुरु भएको बैंकको हाल चुक्ता पूँजी रु ३ अर्ब,४० करोड,जगेडा कोष रु ७२ करोड र कूल पूँजी रु ४ अर्ब १२ करोड रहेको छ ।

बैकले हाल ३३ अर्ब १२ करोड निक्षेप र ३० अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । बैकका ४ लाख २३ हजार बढी ग्राहक छन । नेपाल राष्ट्र बैकले कुल कर्जाको कम्तीमा १६ प्रतिशत उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने नीति अनुरुप बैकले २४.६९ प्रतिशत लगानी गरेको छ ।

बैकले ब्यवसायिक कृषि तथा पशुपक्षी कर्जा अन्तरगत ४ सय ७३ जनालाई १ अर्ब २० करोड, महिला उद्यमशिलता कर्जा अन्तरगत ३ सय ३८ जनालाई ३५ करोड २४ लाख, दलित समुदाय ब्यवसाय विकास कर्जा सहुलियत ब्याजदरमा अनुदान कर्जा ११ जनालाई ४२ लाख तथा अन्य २१ जनालाई ३ करोड ४६ लाख कर्जा उपलब्ध गराएको छ ।

काठमाण्डौंमा ३ वटा शाखा सञ्चालन गर्ने र पोखरा, धनगढी र महेन्द्रनगरमा पनि छिट्टै शाखा सञ्चालन गर्ने तयारी गरिएको बैँकले जनाएको छ ।