विराटनगरमा नेकपा ओली समूहको प्रदेश स्तरिय सभा सुरू, प्रचण्ड – माधव समूह विरोधमा

बुलेटिन संवाददाता
८ फाल्गुन २०७७, शनिबार १३:४१

विराटनगर। विराटनगरमा नेकपा केपी ओली समूहको जनसभा सुरू भएको छ। जनसभामा सहभागी हुन विराटनगरका विभिन्न नाकाबाट जुलुसहरू सभास्थल तर्फ लागिरहेका छन्। जनसभामा सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको समर्थनमा नारवाजी गरेका छन्।

जुलुसमा सहभागीहरूले ‘केपी तिमि अघि बढे, हामी तिम्रो साथमा छौं’ जस्ता नारा लगाएका छन्। प्रदेश स्तरिय सभामा सहभागी हुन प्रदेश १ का विभिन्न जिल्लाबाट समर्थकहरू विराटनगर आएका छन्। सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, पूर्व सभामुख सुभाष नेम्वाङ्, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

जनसभामा सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आउने भएपछि नेकपाकै अर्को खेमा प्रचण्ड माधव समूहले भने विरोध प्रदर्शन गरेको छ। प्रचण्ड माधव समूहका कार्यकर्ताले विराटनगर स्थित एरपोर्ट मोडमा प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका हुन्।