निर्वाचन आयोगले चुनाबको तयारी शुरु नगर्नु शंकास्पद: कांग्रेस सभापति देउवा

बुलेटिन संवाददाता
३ फाल्गुन २०७७, सोमबार २२:०७

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनाबको तयारी अगाडी नबढाउनु शंकास्पद भएको बताएका छन । नेपाली कांग्रेसले रुपन्देहीको भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचारधिन रहेपनि अदालतले निर्वाचन आयोगको काम रोक्न नभनेको भन्दै आयोगको क्रियाकलाप शंकास्पद रहेको बताएका हुन ।

प्रधानमन्त्री ओलीले गत पौष ५ गते संसद विघटन गरेपछि संवैधानिक व्यवस्था अनुसार त्यसको ६ महिना भित्र निर्वाचन गराउनु पर्ने भएपनि त्यो अवस्थामा आयोग तयार नभएको देउवाको भनाई छ ।

देउवाले नेकपा विभाजन भएसँगै चुनाव चिन्हका बारेमा दुबै समूहबाट दाबी भएको अवस्थामा निर्वाचन आयोगले समयमै निर्णय गर्न नसकेको भन्दै आयोगको आलोचना गरे ।

देउवाले नेपालमा अवको शक्ति नेपाली कांग्रेस नै भएको दाबी गर्दै निर्वाचन जहिले भएपनि कांग्रेस कार्यकर्ताहरु चुनावका लागि तयारी रहन निर्देशन दिए ।

उनले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको बताए । उनले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै मतलब नभएको सभापति देउवाले बताए ।

‘कुनै बेला पनि चुनाव हुनसक्छ,’ उनले भने, ‘तर आयोगले अहिलेसम्म किन केही बोल्दैन रु’ नेकपाको विवाद पनि आयोगले छिटो टुंग्याउनुपर्ने देउवाले बताए । ‘नेकपाको विवाद टुंग्याउन अदालतको निर्णय कुर्नु पर्दैन’ देउवाले भने ।