अमरज्योतिद्धारा स्थापना दिवसको अवसरमा सहयोग

बुलेटिन संवाददाता
४ माघ २०७७, आईतवार १३:१२

बुटवल । अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–११ ले संस्थाको तेह्रौ स्थापना दिवसको अवसरमा पाल्पाको रूरू क्षेत्रमा रहेका असहाय वृद्धवृद्धा (भक्त/भक्तिनी) लाई सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा खाद्यसामाग्री र व्यक्तिगत रूपमा असहायलाई नगद समेत गरी करीब ५० हजार रूपियाँ बराबरको सहयोग भएको त्यहाँबाट स्थनीय रामजीप्रसाद खनालले जानकारी दिनुभयो ।

सहकारीले त्यस अवसरमा चामल, दाल, आलु, चिनी, नून, तेल लगायतका खाद्यपदार्थ हस्तान्तरण गरेको थियो । सोही अवसरमा बुटवलका अटो व्यवसायी, आत्रेय रिकण्डिशनका प्रोप्राइटर एवम् सहकारीका सचिव कृष्णप्रसाद पौड्यालले असहायहरूलाई व्यक्तिगत रूपमा नगद बाइस हजार पाँचसय सहयोग दिनुभएको थियो ।

सहकारीका उपाध्यक्ष केशवराज पोखरेलको स्वागतमा भएको कार्यक्रममा ऋषिकेश तथा गायत्री मन्दिर समितिका अध्यक्ष फर्सुराम भट्टराई, वृहत् रूरू विकाश परियोजना संयोजक हिमाल श्रेष्ठ, स्थानीय जनप्रतिनिधि सीता ज्ञवाली लगायतले बुटवलको सहकारीले रूरूक्षेत्रका असहाय वृद्धवृद्धालाई सहयोग गर्ने काम उदाहरणीय भएको बताउनुभयो ।

अमरज्योति सहकारीले स्थापना दिवसका अवसरमा हरेक वर्ष सामाजिक दायित्वकै रूपमा लोककल्याणका कार्यक्रम अन्तर्गत रक्तदान, खाद्यान्न वितरण, कम्बल वितरण लगायतका काम गर्दै आएको संस्थापक अध्यक्ष मिनराज ज्ञवालीले जानकारी दिनुभयो ।