रिब्दीकोटको आठौं (हिउँदे) गाउँसभा

बुलेटिन संवाददाता
२९ पुष २०७७, बुधबार २०:२९

भोजराज भट्टराई
रिब्दीकोट २९, पुष ।
बुधबार रिब्दीकोट गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । सभाले रिब्दीकोट गाउँपालिकाको संशोधन सहितको सहकारी ऐन २०७७ पारित गरेको छ । गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीको अध्यक्षतामा भएको गाउँसभाबाट पाँचवटा कार्यविधि र अन्य आवश्यक निर्देशिका तथा मापदण्ड अनुमोदन गरिएको पालिका स्रोतले जनाएको छ ।

सभामा रिब्दीकोट गाउँपालिकाको कृषिकर्जा अनुदानसम्बन्धी कार्यविधि २०७७, स्मार्ट टोलविकास संस्था सम्बन्धी कार्यविधि, रिब्दीकोट गाउँपालिकाको विपद व्यवस्थापन कार्यविधि २०७७ अनुमोदन गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले जानकारी दिनुभयो । योसँगै रिब्दीकोट गाउँपालिकाको साझेदारी कार्यक्रम तथा व्यवस्थापन कार्यविधि २०७७ र उत्पादनमा आधारित सुन्तलाजात फलफूलमा अनुदान सम्बन्धी कार्यविधि अनुमोदन गरिएको अध्यक्ष जिसीले बताउनुभयो । गाउँपालिका जिसीले अनुमोदित कार्यविधिबाट पालिकाको काम गर्न सजिलो हुने धारणा राख्नुभयो । ‘हामीले पालिकामा आवश्यक कार्यविधि, निर्देशिका र मापदण्ड सभाबाट अनुमोदन गरेका छौं ।’ जिससीले भन्नुभयो, विधिान सभाबाट पारित ऐन, कार्यविधिले स्थानीय तहमा दैनिक कार्यसम्पादनमा सहज हुने विश्वास लिएका छौं ।’

पालिका स्रोतका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ को रिब्दीकोटको जम्मा ४८ करोड ९३ लाख २९ हजार बजेटमा चालुतर्फ २१ प्रतिशत र पूँजीगततर्फ १२.६८ प्रतिशत खर्च भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ३५ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ । पालिकामा ९१ वटा योजना सम्झौता भएकोमा ३५ योजना सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले जानकारी दिनुभयो । उहाँले ५३ वटा योजनाको अनुगमन सकिएको र कूल योजनाको ६० प्रतिशत इष्टिमेट भएको बताउनुभयो ।

सभामा सहभागीले पालिकामा विद्युतीय समस्या, खानेपानी, पूर्वाधार, पशुपंक्षी, कृषि, स्वास्थ्य लगायतका समस्या, चुनौती औंल्याएका थिए । सहभागीको जिज्ञासा सम्बोधन गर्दै पालिका अध्यक्ष जिसीले सभामा उठेका विषयलाई कार्यपालिका र आगामी सभामा छलफलसहित कार्यान्वयन गर्ने बताउनुभयो । सीमित स्रोत र साधनले धेरै जनअपेक्षा पूरा गर्नुपर्ने पालिकाको बाध्यता रहेको बताउँदै उहाँले कृषि, पर्यटन र जनताका दैनिक आधारभूत विषयलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सञ्चालन गरिने जनाउनुभयो ।

जिल्लाका केही स्थानीय तहले अझै हिँउदे अधिवेशन गर्न सकेका छैनन् । यसअघि पूर्वखोला, बगनासकाली, तिनाउ, निस्दीले चालु आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै समयसीमामै हिँउदे सभा सम्पन्न गरेका छन् । सामान्यतया वर्षे अधिवेशन गत आर्थिक वर्षको असार मसान्तभित्र र हिँउदे अधिवेशन चालु आर्थिक वर्षको पुष मसान्तभित्र सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्था र अभ्यास रहँदै आएको छ ।