बगनासकालीमा गाउँघर आयुर्वेद क्लिनिक सेवा

बुलेटिन संवाददाता
२८ मंसिर २०७७, आईतवार १८:१६

पाल्पा ।बगनासकाली गाउँपालिकाले वडा नं. १ मा साप्ताहिक गाउँघर आयुर्वेद क्लिनिकको शुभारम्म गरेको छ । गाउँपालिकाले आइतबार वडा नं. १ को सामुदायिक भवनमा संक्षिप्त समारोहको आयोजना गरी क्लिनिक सञ्चालनमा ल्याएको हो ।

गाउँघर आयुर्वेद क्लिनिकको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले उद्घाटन गर्नुभएको थियो । उहाँले आयुर्वेदिक चिकित्सा सेवालाई प्रभावकारी रूपमा समुदायस्तरमा पहुँच पु¥याउन साप्ताहिक स्वास्थ्य इकाई सेवा सुरुवात गरिएकोले क्लिनिक उद्घाटनमा मात्र सीमित नराखी टोल समुदायमा प्रचारप्रसार गरी सेवा प्रवाह बढाउन आग्रह गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले आयुर्वेद सेवालाई गाउँगाउँमा विस्तार गर्ने उद्देश्यले साप्ताहिक सेवा इकाई सञ्चालनमा ल्याइएकोले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा न्यायिक समितिका सदस्य कुलप्रसाद ढुंगाना, वडा नं. १ का वडा अध्यक्ष सोमबहादुर झेंडीले हरेक आइतबार क्लिनिकबाट वैद्य निरीक्षकबाट स्वास्थ्य चेकजाँच गराइनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिने भएकोले सेवा विस्तारमा साझा सहयोग आवश्यक हुने धारणा राख्नुभयो ।

वडा अध्यक्ष सोमबहादुर चिदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा समिति सदस्य, विभिन्न विषयगत शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । गाउँघर क्लिनिकका संयोजक वैद्य निरीक्षक धिरज पराजुलीको स्वागत र स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । गाउँपालिकामा वडा नं. ८ मा आयुर्वेद स्वास्थ्य शाखा र वडा नं. ५ मा साप्ताहिक गाउँघर क्लिनिक सञ्चालनमा छन् । गाउँपालिकाले उत्तरी क्षेत्रमा आयुर्वेद शाखा र साप्ताहिक गाउँघर क्लिनिक सञ्चालन भएपनि दक्षिणी क्षेत्रमा पहुँच नपुगेको भन्दै वडा नं. १ मा साप्ताहिक गाउँघर क्लिनिक सेवा इकाई सञ्चालनमा ल्याएको जनाएको छ ।