रिब्दीकोट गाउँपालिकाद्वारा वास तथ्याङ्क पुस्तिका सार्वजनिक

बुलेटिन संवाददाता
११ मंसिर २०७७, बिहीबार १९:५८

भोजराज भट्टराई,
पाल्पा ११, मंसिर ।
रिब्दीकोट गाउँपालिकाले खानेपानी सरसफाई तथा स्वच्छता योजना (वासको) तथ्याङ्क पुस्तिका सार्वजनिक गरेको छ । गाउँपालिकाले बिहिबार जनप्रधिनिधि, वार्डस्तरीय वासमितिका पदाधिकारी, विषयगत शाखाका प्रमुख लगायत सरोकारवालाहरूको सहभागितामा पालिकामा अन्तक्रिया कार्यक्रम आयोजना गरी पालिकास्तरीय वाससम्बन्धी अन्तिम तथ्याङ्कको प्रस्तुतीकरण गरेको हो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले वास परियोजनाले परियोजना अवधिमा खानेपानीको पहुँच अभिवृद्धि गर्न र सरसफाई सम्बन्धी बानी व्यहोरामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अध्यक्ष जिसीले गाउँपालिका भित्रका घरधुरी र संस्थागत तथ्याङ्क सङ्कलन गर्नका लागि प्रत्येक वार्डमा पुगी तथ्याङ्क सङ्कलकले सङ्कलन गरेका तथ्याङ्कलाई वडास्तरीय समितिको बैठकबाट रुजु गरी अन्तिम पुस्तिकाको रूपमा प्रकाशन गरिएको बताउनुभयो । वहाँले भौतिक पूर्वाधार मन्त्रालयको सम्झौतामा रिब्दीकोट गाउँपालिकाले २०७६ मंसिर १५ गतेदेखि खानेपानी, सरसफाई तथा स्वच्छताको वार्षिक योजना तयार पारी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले वडा वास योजना कार्यदल र वडास्तरीय तथ्याङ्क सङ्कलन समुहले वडामा हाल भैरहेको खानेपानी तथा सरसफाइ योजनाको संकेत सहित तयार पारिएको सूचीलाई सरोकारवालाहरूको सहभागितामा सार्वजनिक गरिएको बताउनुभयो । वहाँले गाउँपालिकाले तयार पारेको वास योजना सफलतापूर्वक कार्यान्वयन गर्न सके गाउँपालिकालाई नै छिट्टै नै पूर्ण सरसफाईमा पहिचान बनाउन सकिने बताउनुभयो । अधिकृत अर्यालले वास योजना तथा तथ्याङ्कमाथि वृहत रूपमा छलफल गरी आगामी दिनमा सोही अनुसार योजना निर्माण गरी अगाडि बढ्ने समेत बताउनुभयो ।

सरसफाई र स्वच्छतामा आनीबानी परिवर्तन दीगो कायम राख्न स्थानीय तहको मुख्य भूमिका रहने भएकोले समयमै खानेपानी तथा सरसफाई योजनाको संकेत सहित वडागत रूपमा सूची तयार गरी पुस्तकका रूपमा प्रकाशन गरिएको वास संयोजक सुनिल अधिकारीले जानकारी दिनुभयो । संयोजक अधिकारीका अनुसार प्रदेश सरकारले वास परियोजनामार्फत पाल्पा जिल्लाका अन्य गाउँपालिकामा पनि कार्यक्रम सञ्चालनमा ल्याएकोमा रिब्दीकोट छलफलसहित अन्तिम तथ्याङ्ग सार्वजनिकरणमा अगाडि रहेको छ ।

वहाँले वास परियोजना कार्यक्रममार्फत स्थानीय तहमा पूर्ण सरसफाई, मर्यादित महिनावारी व्यवस्थापन, वातावरणीय सरसफाई, सरसफाई तथा स्वच्छता अवस्थाको अवलोकन, पानीको सदुपयोग, स्रोत तथा संरचना संरक्षण, पानीको गुणस्तर व्यवस्थापन लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन भएका छन् । रिब्दीकोट गाउँपालिकाको आयोजनामा भएको वाससम्बन्धी कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख एवम् वास संयोजक सुनिल अधिकारीले गनुभएको थियो ।