बगनासकालीमा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बुलेटिन संवाददाता
१० मंसिर २०७७, बुधबार २०:१६

पाल्पा, १० मंसिर ।
बगनासकाली गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि शुरु भएको छ । गाउँपालिकाले सवै वडाका महिला समन्वय समितिका अध्यक्ष, प्रतिनिधि, सरोकारवालाहरुको सहभागितामा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ःव्यक्तिगत समाज र सवैको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकास्तरीय महिला सञ्जालकी अध्यक्ष एव्म गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा कार्यक्रम चलेको थियो । सो अवसरमा उपाध्यक्ष चिदीले महिला हिंसा विरुद्ध भइरहेको हिंसा, विभेद एवम् अन्याय अन्त्य गर्न सञ्चालन हुने विभिन्न अभियान मध्ये अन्तर्राष्ट्रिय रूपमा मनाइने गरिएको अभियानको मूख्य उद्देश्य महिला हिंसा विरुद्ध हुने सवै प्रकारका हिंसा अन्त्य गर्नु रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले महिला अधिकारका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गरी व्यवहारमा कार्यान्वयन गर्नु, गराउनु र सवै क्षेत्रका महिला पुरुषबीच ऐक्यवद्धताका लागि बातावरण बनाउन १६ दिने अभियानले सहयोग पुग्ने धारणा राख्नुभयो । वहाँले महिला विरुद्ध हुने सवैखाले हिंसा अन्त्य गरी स्वस्थ समाज निर्माणका लागि अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध १६ दिने अभियानले बस्तीबस्तीमा जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्ने उद्देश्यले नेपालमा पनि २०५४ सालदेखि प्रत्येक वर्ष अभियान सञ्चालन हुँदै आएको जानकारी सहित सचेतनामूलक सामग्री प्रस्तुत गर्नुभएको थियो । वहाँले हिंसामुक्त समाज नै स्वस्थ र शान्तिपूर्ण समाज हुनेभएकोले स्वस्थ र समतामूलक समाजको सृजनामा सरोकारवालाहरूको साझा सहयोग र प्रतिवद्धता रहने बताउनुभयो ।
सोही अवसरमा सोही अवसरमा वडा नं. १का अध्यक्ष सोमबहादुर झेंडीसहित विभिन्न शाखाका कार्यरत कर्मचारीहरू सीता गौतम, यादव न्यौपाने, धनकुमारी राना लगायतले आ–आफ्नो प्रस्तुतीमार्फत घरपरिवारका संरक्षक व्यक्तिहरूबाट नै विभिन्न प्रकारका शारीरिक, मानसिक तथा यौनिक हिंसा झेल्नु विडम्बना भएको भन्दै घरैबाट हिंसा हुन नदिने प्रतिबद्धता व्यवहारमै लागु हुन सकेमा अभियान सार्थक बन्ने बताउनुभयो ।

कार्यक्रम वडा नं. ६ की महिला सञ्चालकी प्रमुख नेत्रा पाण्डेको स्वागत र सहायक महिला विकास निरीक्षक धनकुमारी रानाको सञ्चालनमा चलेको थियो ।