अर्थमन्त्री पौडेललाई गृहजिल्लामा कालोझण्डा

बुलेटिन संवाददाता
१० मंसिर २०७७, बुधबार ११:४०

बुटवल । नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई गृह जिल्ला रुपन्देहीमा कालो झण्डा देखाईएको छ । अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आईपुगेका अर्थमन्त्री पौडेललाई नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ र तरुण दलले कालो झण्डा देखाएको हो ।

नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघ र तरुण दलले अर्थमन्त्री पौडेललाई सैनामैना जाने क्रममा बुटवलको नेपालगञ्ज रोडमा कालो झण्डा देखाएका हुन् । त्यस क्रममा केही बेर सडक समेत अवरुद्ध पारिएको थियो । सडक अवरुद्ध गराउँदा प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव समेत रहेका पौडेलले प्रदेशको राजधानी तोक्ने बेलामा अर्थमन्त्री पदसंग राजधानी साटेको आरोप लागेको थियो । बुटवललाई प्रदेशको राजधानी बनाउने भन्दै चुनावी नारा बनाएका पौडेलले प्रदेशको राजधानी तोक्ने बेला अर्थमन्त्री पद पाएपछि चुप लागेको आरोप छ ।

प्रदेश सभाबाट प्रदेशको राजधानी भालुवाङ् तोकपछि महासचिव पौडेललाई तत्कालै अर्थमन्त्री बनाईएको थियो । त्यसैको बिरोध गर्दै अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाईएको नेबिसंघका नेता छायाँ पोखरेलले जानकारी दिनुभयो ।

सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ।