बगनासकालीमा चौमासिक प्रगतिबारे विषयगत शाखासँग छलफल

बुलेटिन संवाददाता
४ मंसिर २०७७, बिहीबार १८:४९

भोजराज भट्टराई,
पाल्पा ४, मंसिर ।
बगनासकाली गाउँपालिकाले चालु आ.व.को प्रथम चौमासिकमा सम्पन्न गतिविधिबारे विषयगत शाखासँग छलफल कार्यक्रम आयोजना गरेको छ । सातौं गाउँपरिषद्बाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट अनुसार बगनासकाली गाउँपालिकाबाट आ.व.२०७७÷०७८को प्रथम चौमासिक अवधिमा भएका विकास निर्माण एवम् अन्य गतिविधिहरूको चौमासिक प्रगतिहरूबारे विषयगत शाखासँग समीक्षा, सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिका स्रोतका अनुसार बिहीबार गाउँपालिका सभाहलमा विभिन्न विषयगत शाखाका प्रमुखले प्रथम चौमासिकमा सम्पन्न गतिविधि, समस्या, चुनौतिका विषयमा धारणा राख्नुभएको थियो । बगनासकाली गाउँपालिकामा चा.लु.आर्थिक वर्षको प्रथम चौमासिकमा अनलाइनमार्फत राजस्व सङ्कलन, उपभोक्ता पदाधिकारीको लागि तालिम, नियमित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन, व्यक्तिगत घट्ना दर्ता एवम् सामाजिक सुरक्षा आयोजना सम्बन्धी अभिमुखीकरण, अपाङ्गता, जेष्ठ नागरिकको नियमित परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएका छन् ।

यस्तैगरी पशु सेवा शाखातर्फ पशुस्वास्थ्य सम्बन्धी उपचार, औषधी खरीद एवम् वितरण, कृषिमा बिउ बिजन वितरण, घरनक्सा अभिलेखीकरण, ठूला योजनाहरूको टेण्डर तथा मूल्याङ्कन, शिक्षा तर्फ सिकाई सहजीकरण कार्यक्रम सम्पन्न भएको पालिकाले जनाएको छ । गाउँपालिकाको प्रथम चौमासिकमा २६ प्रतिशत चालुखर्च र २ प्रतिशत पूँजीगत खर्च भएको आर्थिक प्रशासन शाखाले जनाएको छ । गाउँपालिकाले वार्षिक नीति, कार्यक्रम र बजेट पुस्तिका, त्रैमासिक बुलेटिन प्रकाशनलाई समेत निरन्तरता दिएको जनाएको छ । सो अवसरमा विषयगत शाखाप्रमुखले प्राविधिकहरूको कमी, कृषिमा बजेटको कमी, पशु, कृषिका केही कार्यक्रममा पालिकाको स्ष्ट नीति तथा कार्यविधि अभावको समस्याले तथ्याङ्क व्यवस्थापन एवम् कार्यसम्पादनमा समस्या भएको धारणा राख्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले विषगत शाखाबाट प्राप्त सुझाव एवम् प्रतिक्रियालाई गाउँपालिकाले मनन गर्दै आगामी दिनहरूमा पालिकाको कामलाई अझ प्रभावकारी बनाउन सवै शाखाहरूको साझा दायित्व हुने भएकोले शाखागत समन्वय गरी कार्यसम्पादनमा लाग्न सुझाव दिनुभयो । वहाँले सम्पन्न कार्यक्रमहरूको व्यवस्थित अभिलेखीकरण गर्न, पोषाक कर्मचारीको पहिचान भएकोले यसलाई नियमपूर्वक पालन गर्न र चौमासिक प्रतिवेदनहरू बेलैमा सम्बन्धित निकायमा पठाउन शाखाहरूलाई आग्रह गर्नुभयो ।

बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेको अध्यक्षतामा भएको छलफलमा लेखा, शिक्षा, सहकारी, आन्तरिक लेखा परीक्षण, स्वास्थ्य, कृषि विकास, पशुसेवा, योजना, जिन्सी, आयुर्वेद, सूचना तथा प्रविधि, प्राविधिक, प्रधानमन्त्री रोजगार, पञ्जीकरण, महिला विकास लगायतका विषगत शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।