“धर्म र संस्कृतिको उत्सवमय पर्व वडा दशैँ”

ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)
२ कार्तिक २०७७, आईतवार २१:२७

बुटवल । प्रत्येक आश्विन शुक्ल प्रतिपदादेखी पूर्णिमा सम्मका पन्ध्र दिनलाई वडा दशैँ भनिन्छ । दशैँ नेपालीहरुको सबैभन्दा प्रिय चाड हो । नेपालको राष्ट्रिय चाड पनि हो । यस वर्ष कार्तिक १ गते देखि दशैँ भएको छ । खासगरी दशैँ आश्विन प्रतिपदादेखि सुरु भई पूर्णिमासम्म पन्ध्र दिन मनाइन्छ तापनि दशैँको दिन महत्त्वपूर्ण दिन दशमी तिथि नै हो । यसलाई विजयाvदशमी पनि भनिन्छ । फेरि प्रतिपदादेखी नवमीसम्मका नौदिनलाई नवरात्री (नौरथा) भनिन्छ ।

दशैको प्रथम दिन प्रतिपदालाई घटस्थापना भनिन्छ।यस दिन घरघरमा शुभ साइतमा घटस्थापना गरी जमरा राखिन्छ । यसै दिनदेखि दुर्गापूजा सुरु हुन्छ । भगवतीका प्रत्येक दिन भिन्दाभिन्दै रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री नाम गरेकी देवीको आराधना गरिन्छ । दोस्रो दिन ब्राह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौ दिन कालरात्रि नाम गरेकी देवीको पूजा गरिन्छ । सप्तमीको दिनलाई फुलपाती पनि भनिन्छ । सप्तमीको दिन उचित साइतमा नवपत्रीका वा नौ थरीका फुलपाती भित्र्यान्छ । यस दिन फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौ नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । अष्टमीको दिन महागौरीको पूजा गरिन्छ । यसैदिन महालक्ष्मीको पूजा गरी घरघरमा खड्ग स्थापना गरिन्छ । अष्टमी र नवमीका बिचको रात्रीलाई कालरात्री पनिभनिन्छ । रातभर जागरण बस्ने र गुप्त पूजा गर्ने चलन छ । मन्दिर र कोटहरूमा नारिकेल (नरिवल ) र कुष्माण्ड (कुभिण्डो) को बलि दिन्छन् ।

महानवमीको दिन सिद्धिदात्री भगवतीको पूजा गरिन्छ । दशमीको दिन आ-आफ्नो घरको पूजाकोठामा वा मन्दिरमा दुर्गा भवानीको पूजापाठ गरिन्छ । राता अक्षता र जमरा देवीलाई चढाइन्छ र त्यही अक्षता, जमरा र प्रसाद मान्यजनबाट ग्रहण गरी आशिर्वाद लिइन्छ । टिकाको साइत सुरु भएपछि दिनभरि मन्यजनबाट टिका, जमरा, प्रसाद ग्रहण गर्ने काम दिन भर चल्दछ ।

दशैँमा आशिर्वाद दिदा
“आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्यं शान्तनवे वलं हलधरे सत्यञ्च कुन्तीसुते ।
बिज्ञानं बिदुरे भवन्तु भवतां कीर्तिश्च
नारायणे।।
भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसीदतु।
रक्षतु त्वां सदा देवी आशिषस् सन्तु सर्वदा ।।
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।
दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा
नमोकस्तुते।।
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणी ।
जय सर्वगते देवि कालरात्री नमोकस्तुते ।।”

गरिएका श्लोक भन्ने चलन छ । श्लोक उच्चारण गर्न नजान्नेहरूले पनि सुख,शान्ति, समृद्धि र दीर्घायु कामना गर्दै आशिर्वाद दिन्छन् । कोजाग्रत
पूणिर्माको दिन सम्म नै टिका लगाउने, मिठो मसिनो खाने आफन्त सङ्ग भेटघाट गर्ने चलन छ । पौराणिक कथन अनुसार अयोध्याका राजा रामले लङ्काका राजा रावणले सीतालाई हरण गरी लैजादा उनीसँग युद्ध गर्न शक्तिको उपासना गरे । शक्ति स्वरुप भगवतीमाताको उपासना गरी श्रीरामले दुष्ट रावण सङ्गको युद्ध हुदा दशमीको दिन नै विजय प्राप्त गरेका थिए ।

त्यसै दिन विजया दशमी मानी टीका लगाउने परम्परा चलिआएको हो भन्ने भनाइ पनि छ । त्यसैगरी अर्को मान्यता अनुसार परापूर्वकालमा दैत्यहरूको आतंकबाट, आतंकित भएका देवताहरूले दुर्गा भवानीको आरधाना गरे, अनि दुर्गा भवानी पनि प्रकट भइन । त्यसपछि देवगणलाई सताउने शुम्भ, निशुम्भ र रक्तबीज महिषासुर आदि जस्ता असुरहरुको समेत विनाश गरि उनले असत्यलाई पराजित गरिन् र सत्यको संरक्षण
गरिन । त्यसै खुसियालीमा देवीको पूजा गरेर नै पर्व मनाउने प्रचलन चलेको हो । यसरी सत्यको असत्यमाथि, अनि न्यायले अन्यायमाथि विजय प्राप्त गरेको हुनाले पनि समाजमा यो पर्व विजया दशमी रहेको भन्ने जनविश्वास रहेको पाइन्छ । असत्यमाथि सत्यको विजय, दानवीय स्वभाव माथि मानवीय स्वभावको विजय अन्याय माथि न्यायको विजय हिंसामाथि अहिंसाको विजय र आसुरी शक्तिमाथि विजय नै विजया दशमी मनाउनुको उदेश्य  हो ।