सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणाली सम्बन्धी अभिमुखीकरण

बुलेटिन संवाददाता
२२ आश्विन २०७७, बिहीबार २०:३२

पाल्पा । बगनासकाली गाउँपालिका पञ्जीकरण सेवा इकाई चिर्तुङ्धारा पाल्पाको आयोजनामा वडा नं. १ मा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार गाउँपालिका सभाहल चिर्तुङ्धारा पाल्पामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढकरण अयोजना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

बगनासकाली गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सोमबहादुर झेंडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल रहनुभएको थियो । अभिमुखीकरण कार्यक्रम उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष बस्यालले बगनासकाली गाउँपालिकाका सवै वार्डमा प्रविधिको पहुँच पुगेको, सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लगिएको र सवै वार्डमा व्यक्तिगत घटना दर्तालाई अनलाइनमार्फत सञ्चालन गरिएकोले पञ्जीकरण र सामाजिक सुरक्षा भक्ताको कार्यक्रम सुदृढीकरणमा सहज हुने धारणा राख्नुभयो । उहाँले पञ्जीकरण सेवा इकाईले पालिकाका सवै वार्डबाट प्राप्त सामाजिक सुरक्षा र घट्नादर्ताका गुनासो, समस्या र अवसरका विषयमा सहकार्य गर्ने भएकोले सिस्टममा प्रविष्ट गर्दा हुने त्रुटी सुधार गर्दै पञ्जीकरण सेवालाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेदजस्ता घटनाहरू र सामाजिक सुरक्षा भक्ताको अनिवार्य रूपमा अनलाइन दर्ता गर्ने प्रक्रियाका विषयमा अभिमुखीकरणले सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा आयोजना अन्तर्गत रहेका व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था, बैंङ्कीङ प्रणाली, तथा आयोजनाका विविध विषयमा वडाका जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी दर्लामी, वडा नं. १ का अध्यक्ष सोमबहादुर झेंडी, न्यायिक समितिका सदस्य एवम् वडा सदस्य कुलप्रसाद ढुङ्गाना, वडा सदस्यहरू मानबहादुर राना, खुमकान्ती राना, हेमा राई, शिक्षा शाखा प्रमुख गुनाराम खनाल, बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन मनोज आचार्य, फिल्ड सहायक प्रेमबहादुर बगाले, वडा नं. १ का जनप्रतिनिधिहरू, वडास्तरका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा पञ्जीकरण सेवा इकाईका एम.आइ.एस अपरेटर भोजराज भट्टराईले सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणाली सुदृढीकरण आयोजनाको उद्देश्य तथा कार्यक्रमको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणाली सुदृढीकरण आयोजना, पञ्जीकरण सेवा इकाईको काम, विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भक्ता भुक्तान सम्बन्धी व्यवस्था र व्यक्तिगत घट्ना दर्ता सम्बन्धी कानूनी व्यवस्थाका विषयमा भट्टराईले जानकारी प्रदान गर्नुभएको थियो । उहाँले पञ्जीकरण सेवा इकाइले गाउँपालिकाको सवै वडास्तरको अभिमुखीकरण कार्यक्रमबाट प्राप्त सुझाव, गुनासो व्यवस्थापनमा सहजीकरण गर्दै गाउँपालिकाको सवै वडास्तरमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ताको काममा सहकार्य, सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरूले पञ्जीकरणका विषयमा नसुनेका नबुझेका कुराहरूमा जानकारी प्राप्त भएकोले अभिमुखीकरण लाभदायी रहेको धारणा राख्दै पञ्जीकरण, सामाजिक सुरक्षाका पुरानो दर्ता नष्ट भएको अवस्थामा आवश्यक प्रक्रिया अपनाई अद्यावधि गराउने, बैंकमार्फत हुने सामाजिक सुरक्षा कार्यक्रमलाई लाभग्राहीमैत्री बनाउनुपर्ने, वडामा इन्टरनेट र प्राविधिक सपार्टेलाई निरन्तरता दिनुपपर्ने, पञ्जीकरण सेवा इकाईबाट खर्च हुन नसकेको बजेट गाउँपालिकाको कोषमा जम्मा गरी पालिकास्तरीय कार्यक्रम व्यवस्थापनमा खर्च गर्नुपर्ने, सिस्टममा देखिएका समस्यालाई प्राविधिक तहबाट समाधानमा सहयोग गर्नुपर्ने सुझाव राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा नं. १ का सचिव विराट गैरेले गर्नुभएको थियो ।