सेवा सूचारु भएपछि निस्दी र माथीगढीका नागरिकमा खुसीयाली

बुलेटिन संवाददाता
१८ आश्विन २०७७, आईतवार ०९:२४

पाल्पा ।
जिल्लाको माथागढी र निस्दीमा दुई महिनादेखि अवरुद्ध रहेको नेपाल टेलीकमको सेवा सूचारु भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

माथागढीको वडा नं. ७ स्थित रहवासमा रहेको नेपाल टेलिकमको जिएसएम मोबाइल टावरमा गण्डकी प्रदेशको विनय–त्रिवेणी गाउँपालिकाको बेनिमनिपुरबाट दिइएको रेडियो लिंकमा पावरको समस्याले अवरुद्ध रहेको नेपाल टेलिकमको सेवा हाल निरन्तर सन्चालनमा आएको हो ।

नेपाल टेलिकम पाल्पाले यसको समाधान पहिलेनै गर्ने प्रयास गरेता पनि कोरोनाको विषम परिस्थितिले गर्दा सो कार्य समयमा गर्न नसकिएको नेपाल टेलिकम पाल्पाका कार्यालय प्रमुख ढाकाराम पौड्यालले बताउनुभयो ।

अहिले रहवासको लागि रेडियो लिंक रहेको प्रदेश–४ को विनय–त्रिवेणी गाउँपालिकाको बेनिमनिपुरमा नयाँ व्याट्री जडान गरि सेवामा निरन्तरता दिएको जानकारी कार्यालय प्रमुख पौड्यालले जानकारी दिनुभयो वहाँका अनुसार पहिले रेडियो लिंक र जिएसएम मोबाइल टावरको लागि एउटै पावरको ब्यबस्था भएकोमा अहिले रेडियो लिंकको लागि छुट्टै व्याट्री जडान गरेर समस्या समाधान गरिएको हो ।

यसरी करिब दुई महिना अगाडी देखि निरन्तर सेवा नपाइरहेका माथागढी वडा नंं. ५,६,७ र ८ लगायत निस्दीका केही वडाका नागरिक सहितले अहिले चौबीसै घण्टा नेपाल टेलिकमको सेवा सुचारु भएसँगै खुशी भएको बताउँछन् ।

यसैबीच टेलीकम पाल्पाले जिएसएम प्रविधिबाट इन्टरनेट प्रयोगकर्ताहरूसमेत बढेको बताएको छ । टेलीकम पाल्पाले जिएसएम (टुजी, थ्रीजी र फोरजी) एफटीटीए (भ्वाइस, डाटा र निकट भविष्यमा आइपीटीभी), पिएसटीएन, एडीएसल, वाइम्याक्स, लिज लाइन लगायतको सेवा सञ्चालनमा ल्याएको कार्यालय प्रमुख पौड्यालको भनाई छ ।