बगनासकालीमा आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

बुलेटिन संवाददाता
१७ श्रावण २०७७, शनिबार १०:५०

भोजराज भट्टराई,
पाल्पा, १७ श्रावण ।
‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक आधार’ भन्ने नारासहित बगनासकाली गाउँपालिकाले स्तनपान सप्ताह मनाउने भएको छ । स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका अनुसार आजदेखि देखि २३ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाउने कार्यक्रम अनुसार गाउँपालिकाका सवै वडामा विभिन्न कार्यक्रम गरी स्तनपान सप्ताह मनाउन लागिएको हो ।

‘बगनासकाली पूर्ण संस्थागत सुत्केरी बनाउने गाउँपालिका घोषणा भइसकेको सन्दर्भ र बालमैत्री स्थानीय शासनमा यो विषय समावेश भएकोले बगनासकाली गाउँपालिकालाई शतप्रतिशत पूर्ण स्तनपान गराउने गाउँपालिकाको रूपमा चिनाउन सकिएको छ ।’ बगनासकालीका सवै वडामा कार्यरत ७७ जना स्वयंसेवीहरू एक सातासम्म घरघरमा पुगेर बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपानसम्बन्धी जनचेतना फैलाउन, शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्याहरूको बारेमा जनसमुदायलाई सचेत गराउनको लागि सहजीकरण गर्ने र सूचना दिने अधिकारीले बताउनुभयो ।

बगनासकाली गाउँपालिकामा सुत्केरी महिलाको घरमा नर्सिङ्ग स्टाफहरू पुगेर परामर्श दिने कार्यक्रम समेत रहेकोले गाउँपालिकालाई पूर्ण स्तनपान गराउने गाउँपालिका बनाउन सहज भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो । यसअघि गतमंसिर ४ गते बगनासकाली गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गराउने गाउँपालिकाको रूपमा घोषणा गरिएको थियो । गाउँपालिका भरिमा १० वटा स्वास्थ्य चौकी रहेका छन् ।