क्वारेन्टाइन र आइसोलेशन खाली भएपछि बगनासकालीका विद्यालयमा स्यानिटाइज शुरु

भोजराज भट्टराई
१४ श्रावण २०७७, बुधबार २०:२७

पाल्पा  । कोभिड–१९ को संक्रमण फैलिन नदिन बगनासकाली गाउँपालिकामा स्थापना भएका सवै क्वारेन्टीन र आइसोलेशन आजदेखि खाली भएका छन् । लकडाउनसँगै भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरूले भरिभराउ क्वारेन्टीनहरू क्रमशः खाली हुँदै गएकोमा आइशोलेशन र क्वारेन्टाइन रहेका १८ जनालाई बुधबार घर पठाएसँगै पूर्ण रूपमा रित्तिरएका हुन् ।

बुधबार वडा नं. १ को ग्राम्य मा.वि., वडा नं. ५ को सरस्वती आधारभूत विद्यालय, वडा नं. ५ को हिमालयन आधारभूत विद्यालयका गरी १८ जनालाई घर पठाएसँगै १७ वटै विद्यालयका क्वारेन्टाइन खाली भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा कोभिड–१९ पोजेटिभ देखिनेहरूलाई होम क्वारेन्टाइन या सामुदायिक भवनमा व्यवस्थापन गरिने बताउनुभयो । ‘विद्यालय चलाउन निर्देशन आएमा एक सातापछि चलाउन सकिनेगरी सवै विद्यालयको स्नानिटाइज सक्नेगरी काम अगाडि बढाएका हौं ।’ अधिकारीले भन्नुभयो, ‘आगामी दिनमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था छिट्टै आउने भएकोले र सवै विद्यालयका क्वारेन्टीन र आइसोलेशन रित्तीएकाले प्रविधिको प्रयोग गरी विद्यालय सरसफाई अभियान थालेका हौं ।’

आइसोलेशन र क्वारेन्टीन खालीभएसँगै विद्यालय परिसरमा फोगिंग मेसिनको प्रयोग गरी सोडियम हाइपोक्लोराइड छर्केर स्यानिटाइज गर्न शुरु गरिएको छ । बुधबार वडा नं. १ स्थित ग्राम्य माध्यमिक विद्यालयमा स्यानिटाइज शुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिनुभयो । गाउँपालिकाका विभिन्न १७ विद्यालयमा स्थापना गरिएका आइसोलेशन र क्वारेन्टीन स्थलमा चैत्रको १५ गतेदेखि बुधबारसम्म २७३ जना नागरिक क्वारेन्टीन स्थलमा बसेकोमा १८ जनाको कोरोना पोजेटिभ देखिएका थिए । पोजेटिभ सवैको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाले विद्यालयलाई स्यानिटाइज शुरु गरको हो ।