पाल्पाका पाँच जनामा कोरोना संक्रमण पुष्टि

बुलेटिन संवाददाता
१९ जेष्ठ २०७७, सोमबार १९:४३

पाल्पा । सोमबार थप २ जनामा कोरोना पुष्टि भएसँगै पाल्पा जिल्लामा कोरोना संक्रमणका विरामी ५ पुगेका छन् । यसअघि आइतबार रैनादेवी छहराका २ र माथागढी गाउँपालिकाका १ गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा निस्दी निस्दी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित १७ र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एकहप्ता अगाडि भारतबाट आएका उनीहरू स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

आइतबार संक्रिमत पुष्टि भएका ३ जनालाई भुसलडाडाँमा निर्माण गरिएको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पाल्पाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएका २७२ जनाको परिक्षणमा २६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ५ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।