मेरो छिमेकी (कविता)

प्रवेश आचार्य
१८ जेष्ठ २०७७, आईतवार २२:२९

धतुरो लिएर हातमा
गाँजाको सासमा गुन्गुनाउँछ मेरो छिमेकी,
यो मीठो फल बेलको
कतिमा किन्नुहुन्छ हजुर ?

मेरो सोझो छिमेकी
फलफूल व्यापार गर्न खोजेझैँ गर्छ
सयपत्रीको बिउ किनेर महङ्गोमा
आँप फल्ने मौसम कुर्छ ऊ ।
तराईको माटो मलिलो छ भन्दै
स्याउ, कफी उमार्ने जमर्को गर्छ
फलपछि फूल आउँछ भन्छ
र सबैका बारीमा
फलको परागसेचन गराउनुपर्छ भन्दै
शंखेकीराहरू छाडिदिन्छ ।
र सधैँजसो
पर्मा पैँचोको निहुँ पारेर
कुटो, कोदालो र बन्चरो बोकेर
घर छाडी डेरा बसाउँछ
मेरो करेसा बारीमा ।

मेरो सोझो छिमेकी ऊ
मेरो आँशुको कारण मेरो हाँसो हो भन्छ
व्यापारी बन्न हिँडेको ऊ,
फल, फूल, खेत, बारी,
दाना, रूख, फेँद, टुप्पो,
उत्पादन, ग्राह्यता,
नाफा, नोक्सानी
कुनै शब्दको परिभाषा चित्त बुझाउन खोज्दैन ।
ऊ जरामा होइन,
पातमा पानी हाल्ने माली न हो,
दाउरा हिर्काएर आफ्नै ढाड
सेकाउन खोज्दैछ अझै
मेरो छिमेकी ।