स्मरणमा पिपलबोटे काइला बाजे – मेरा खुमानन्द सर !

बाबुराम अधिकारी
१८ जेष्ठ २०७७, आईतवार २१:४७

आजभन्दा २९ बर्ष अगाडी २०४८ सालमा कक्षा ८ को नेपाली बिषयमा “ तिम्रो भविष्यको योजना” शिर्षकमा निबन्ध लेख्दै थियौँ । पाल्पा जिल्लाको पश्चिमी सिमानाको गाउँ भुवनपोखरीको एकमात्र माध्यमिक विद्याालय श्री रैनादेवी माध्यमिक विद्यालय गोखुङ्गाका कक्षा ८ का करिब ४० जना विधार्थीहरु । निबन्ध लेख्न लगाउने सर मेरो जिवनको आदर्श व्यक्त्तित्व खुमानन्द मरासिनी सर । उहाँलाई म पिपलबोटे काइला बा भनेर बोलाउँथे ।

शिक्षक भनेपछि त्यो बेला श्रदा र भय दुवै बढी हुने हुँदा हामी शिक्षकहरुसंग त्यति नजिक हुन सक्दैनथ्यौ । तर पनि कक्षाको प्रथम स्थानको विधार्थी हुदाँ मलाइ विशेष माया गर्नुहुन्थ्यो ।

पिपलबोटे काइला बा गाउँका विभिन्न उमेर समुहका मानिसका माँझ काइला बा, काइला बाजे, मास्टर बाजे, र खुमानन्द सर विभिन्न नामले चिनिनुहुन्थ्यो । हाम्रो गाउँमा अधिकांश बासिन्दा निम्न वर्गिय थिए र प्रायः प्रत्येक परिवारका पुरुषहरु रोजगारीको लागी भारतका विभिन्न शहरमा गएका हुन्थे ।

परिवारमा भएका व्यक्तिहरु लेख पढ गर्न नसक्ने र सञ्चारको माध्यम एउटा मात्र चिठी हुन्थ्यो । हाम्रो विधालयको नजिकै गाउँ हुलाक कार्यालय थियो र हामी प्रत्येक दिन मध्यान्तरमा छिटो हुलाक कार्यालय पुग्न तछाड मछाड गथ्र्यौ । गा.वि.स. को वडा अनुसार छुट्याएर राखिएका चिठीहरु एक एक हेरेर हुलाकीको अनुमतिले आफुले चिनेका घरका चिठीहरु लिन्थ्यौ र धेरै चिठी हातपर्दा आफुलाइ गौरवान्वित महसुस गर्दै हुलाकीको भुमिका खेल्दथ्यौँ ।

गाउँका वल्लाघर, पल्लाघर, जाइधार, न्यौपाने, खाम्चाकी, बरम्कोट, आदी घरहरुमा चिठी पुराएपछि चिठी वाचन गर्नका लागी सबैले सम्झिने नाम पिपलबोटे काइला बाजे मेरो खुमानन्द सर हुनुहुन्थ्यो ।

भारतको लखनउ, हिसार, कानपुर, दिल्ली र पंजावमा नै गाउँका धेरै युवा र पुरुषहरु रोजगारीका लागी गएका हुन्थे । र उनीहरुको सन्देश आफन्त माझ चिठी पत्रले नै बोक्ने गर्दथे । चिठीहरु दुई प्रकारले प्राप्त हुन्थे । हाते चिठी र हुलाकबाट प्राप्त चिठी ।

हाते चिठी कोही छिमेकीसँगै काम गर्ने घर आउँदा ल्याइदिन्थे र हामीहरुले चकलेट, मिश्री र नरिवल खान समेत पाउँदा रमाइलो हुन्थ्यो ।  प्रत्येक दिन विद्यालय जाँदा र फर्किदा बाटोमा हातमा चिठी लिएर महिलाहरु खुमानन्द सरलाइ कुरिरहेका हुन्थे । सरले समय मिलाएर चिठी वाचन गरिदिनुुहुन्थ्यो ।

पुज्यनिय बुबा आमामा साष्टाङ्ग दडण्वत् , दाजु भाउजुलाइ ढोग ,मेरी उनीलाई असिम प्रेम , भाइ बहिनी छोरा छोरीलाई यो प्रदेशीको तर्फबाट माया एवम् सम्झना । वल्ला घरे , पल्ला घरे ,जेठा, माइला, साइला ,काइला ,कान्छा बुबा आमालाइ साइनो अनुसारको आदर…………………….यि र यस्तै चिठी वाचन गरिरहदा वल्ला पल्ला घरका मानिस समेत बाटोको छेउमा बसेर उत्सुकतापुर्वक सुनिरहेका हुन्थे ।

हामी पनि अलि पर उभिएर घरको खाजा सम्झदै सुन्थ्यौ । खुमानन्द सरले चिठी बाँच्ने मात्र होइन समय मिलाएर उत्तर लेखिदिनु समेत पर्दथ्यो । गाउँमा लेनदेनको कपाली तमसुक लेख्नेदेखि झै झगडा मिलाउन मध्यस्थताको भुमिका समेत सरले खेलिदिनुहुन्थ्यो । साच्चिकै गाउँलेले धेरै विश्वास गर्दथे खुमानन्द सरलाई ।

हो आज मेरो आदर्श सर खुमानन्द सरले निबन्ध लेख्न दिनुभएको थियो । सबैले आ आपm्नो तरिकाले लेख्न थाल्यौ र घण्टी बजेपछि सरले माग्नुभयो हामीले कापीको पन्ना च्यातेर नाम र रोल नं. लेखी बुझायौँ । अरु साथीहरुले के लेखे मलाइ थाहा भएन मैले भविष्यमा शिक्षक बन्न चाहन्छु भनेर लेखेको थिए । कुनै पनि विद्यार्थीलाई भविष्यको योजनाको बारेमा सोध्यो भने डाक्टर, इन्जिनियर, पाइलट, वकिल, आदि आदि ……गर्दै सायद शिक्षक त्यो सुचीमा पर्दैन ।

म मध्यम वर्गिय परिवारको सदस्य भएकाले मात्र मेरो भविष्यको योजनामा शिक्षक परेको भने पक्कै होइन । म खुमानन्द सरको सामाजिक भुमिका बाट प्रभावित भएर मेरो मनमा शिक्षक पेसा प्रतिको आकर्षण मेरो बाल मस्तिष्कमा आएको थियो । सायद हाम्रो कक्षाका साथीहरु मध्ये मैले मात्र भविष्यको योजनामा शिक्षक पेसा रोजेको थिए । सरले किन शिक्षक बन्ने भनेर सोध्नुभएको प्रश्नमा मेरो जवाफ चिठी बाच्न र लेख्न अनि तमसुक लेख्न भन्ने हुनेगथ्र्याे।

समय परिवर्तनशिल छ । ति मेरा सहपाठीहरु आज को कुन पेसामा हुनुहुन्छ । उहाँहरुले आफ्नो योजना अनुसार सफलता प्राप्त गर्न सक्नु भयो कि भएन ? म भने एउटा भाग्यमानी हुँ आज पेसाले शिक्षक छु । म मेरो लक्ष्यमा सफल भएता पनि समय परिवर्तन भएको छ ।

आज म पश्चिम तराइको एउटा जिल्ला बाँकेमा शिक्षण पेसामा आबद्ध छु । हिजो भारतको लखनउ, हिसार, कानपुर, दिल्ली र पंजावमा रहेका परिवारका व्यक्त्तिहरु कतार, मलेसिया, साउदी, दुवई, कोरिया र जापानमा हुनुहुन्छ । अब चिठीहरु लेख्ने र बाँच्ने काम लोप भइससकेको छ । आज मोबाइल र भिडियो कलले चिठीलाइ विस्थापित गरेको छ । सायद आजका शिक्षकहरुको भुमिका परिवर्तन भएको छ ।

आज विद्यार्थीलाई चिठी र हुलाकको बारेमा सम्झाउन कुनै कुनामा अवशेषको रुपमा सीमित रहेको हुलाक कार्यालय लैजानु पर्ने वा आफ्नो विद्यार्थी कालमा प्राप्त गरेका पत्रमित्रको नमुना लगेर देखाउन परेको छ । आज मेरो आदर्श व्यक्त्तित्व खुमानन्द सर यो संसारमा हुनुहुन्न तर उहाँको प्रेरणाले म शिक्षक बनेकोमा मलाइ गर्व छ ।

मैले यस पेसाबाट मोटर चढ्ने र अथाह सम्पती कमाउने सोँच त राखेको छैन तर शिक्षक पेसालाई शिक्षक मित्रहरुले नै वैकल्पिक पेसा बनाउँदा र समाज अनि सरकारी निकायबाट यस पेसालाई हेयको दृष्टिले हेर्दा दुःख लाग्दछ ।

यदि एउटा कक्षाबाट एकजना विद्यार्थीले मात्र पनि म भविष्यमा शिक्षक बन्नेछु भन्ने योजना बनाएमा मैल आफुलाइ सफल शिक्षक भएको महसुस गर्ने थिए । यदि मेरो सन्तानले भविष्यमा शिक्षक बन्ने योजना बनाउँदा गर्वका साथ बधाई दिने वातावरण छिट्टै बनोस् ।

लेखक प्रभात नमुना मा बि बैजनाथ ५ जि गाउँ बाकेका शिक्षक हुनुहुन्छ ।