पाल्पाका ८५ पत्रकारको कोरोना बिमा

भोजराज भट्टराई
१८ जेष्ठ २०७७, आईतवार १९:३७

पाल्पा । विश्वव्यापी फैलिएको कोरोना महामारिका समयमा फ्रन्टलाइनमा काम गर्ने पाल्पाका ८५ जना पत्रकारहरूको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघको सिफारिसमा तानसेन नगरपालिकाको सहयोगमा पत्रकार महासंघमा आवद्ध क्रियाशिल पत्रकारहरूको लागि १ लाख बराबरको कोरोना बिमा गरिएको हो ।

विश्वव्यापी फैलिएको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम उपचारको तथ्यपरक नियमित सूचना सम्प्रेषणका काममा फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरूको क्रियाशिलतालाई प्रोत्साहित गर्न पाल्पाली पत्रकारलाई कोभिड बिमामा समावेश गरिएको तानसेन नगरप्रमुख अशोककुमार शाहीले औंल्याउनुभयो । उहाँले कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि पत्रकारहरू सक्रिय रूपमा लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेशकुमार अर्याल र नगरप्रमुख शाहीले कोभिड बिमा सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा बोल्दै महासंघ पाल्पाका अध्यक्ष अर्यालले दुवै पक्षको सहमतिमा कोरोना बिमा सम्झौता गरिएको र प्राविधिक कारणले छुट हुन गएका महासंघका केही सदस्यलाई समेत बिमामा समावेश गरिने बताउनुभयो । तानसेन नगरपालिकाले यसअघि पनि पत्रकार महासंघलाई स्वास्थ्य तथा सुरक्षित सामग्री प्रदान गरेको थियो ।