कोरोना विरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाउनुपर्छ : उपमहासचिव अस्लामी मगर

बुलेटिन संवाददाता
१७ जेष्ठ २०७७, शनिबार २०:५३

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले कोरोना संक्रमणविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्ने सरकारसँग माग गरेको छ ।

कोरोना महामारीविरुद्ध लड्न सरकार एक्लैले सम्भव नहुने भन्दै जनमुक्तिले संसदमा रहेका र संसद बाहिरका सबै दललाई समेटेर केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्रमार्फत काम गर्नुपर्ने माग गरेको हो ।

पार्टी निकट राष्ट्रिय जनमुक्ति युवा महासंघले शनिबार बुटवलमा गरेको अन्तरक्रियामा पार्टीका उपमहासचिव टोप अस्लामी मगरले सरकारले आफ्ना कमी कमजोरी ढाकछोप गर्दै कोरोनाविरुद्ध लड्न एक्लै सक्षम भएजस्तो गरी लकडाउन मात्रै लम्ब्याएको आरोप लगाए ।

कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिने उद्देश्यले पार्टीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग भेट गरेर कुरा राख्न खोजेपनि उनले बेवास्ता गरेको अस्लामीले आरोप लगाए ।

जनमुक्ति युवा महासंघका प्रदेश ५ अध्यक्ष डीबी थापाले कोरोना नियन्त्रण र उपचारमा सघाउ र्पुयाउन पार्टीले सय जनाको एन्टी कोरोना टिम बनाएर काम गर्न थालेको बताए । प्रदेश सरकारले बेवास्ता गरेपनि पार्टीले स्वयंसेवकका रुपमा सय जनाको टिम बनाएर प्रदेशका बाह्रै जिल्लामा जनचेतना र राहतका काम गर्ने तयारीमा रहेको उनले बताए ।