पाल्पाको पुर्वखोलामा औषधि अभाव रहेन, स्वास्थ्य चौकी पुग्न नसक्नेलाई घरघरमै औषधि

बुलेटिन संवाददाता
१२ जेष्ठ २०७७, सोमबार १७:२८

पाल्पा । सदरमुकाम तानसेनबाट औषधि ल्याई नियमित सेवन गर्नुपर्ने तर पछिल्लो समय औषधि सकिएर चिन्तित बनेका पाल्पाको पुर्वखोलाका गाँउबासीहरु घरघरमै औषधि पाएपछि दंग भएका छन । लकडाउनका कारण सर्बसाधारणलाई सदरमुकाम गएर औषधि ल्याउनु असम्भ बनेपछि गाउपालिकाले नै गाँउबासिका औषधि ल्याइदिएपछि स्थानिय खुसी भएका हुन ।

एकातिर कोरोनाको त्रास, अर्कातिर नियमित खानुपर्ने औषधि सकिएर रोगले च्याप्ने हो कि भन्ने त्रास, अझ त्यसमाथी नियमित औषधी खाने र दिर्घरोगीका लागि कोरोना बढी घातक भन्ने प्रचारले त्रसित बनेका नियमित औषधि खाने बिरामिहरुलाई गाँउपालीकाको यो कार्यले केही राहत मिलेको छ ।

स्वास्थ्य बिमा गराइ सदरमुकाम तानसेनेको युनाइटेड मिसन अस्पतालाबाट औषधि लकडाउन लम्बिदै जाँदा पूर्वखोला गाँउपालिकाले नियमित औषधि खाई रहेका गाँउबासीको औषधि सदरमुकाम तानसेनबाट ल्याइदिएको हो ।

तस्वीर : बिरामिलाई वितरणका लागी औषधी मिलाउदै स्वास्थ्य कर्मचारीहरु

गाँउपालिकामा स्वास्थ्य बीमा गराई नियमित औषधि खाने २०५ जनाको औषधि तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट ल्याई वितरण गरिएको स्वास्थ्य संयोजक मोहन ढकालले बताउनुभयो ।

त्यस्तै बीमा नगराएकाहरुलाई गाँउ पालिकाले नै स्वास्थ्य चौकीबाट औषधि वितरण गरिएको छ । बीमा नगरेका तर नियमित औषधि खाईरहेका दीर्घ रोगी र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरुका लागि स्वास्थ्य चौकीबाट औषधि उपलव्ध गराइरहेको रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्यले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य चौकीसम्म आउन नसक्नेहरुलाई स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका मार्फत घरसम्मै औषधि पुरयाइदिएको समेत जानकारी दिनुभयो ।