लुम्बिनीमा वृहत रक्तदान, प्रदेश सांसद खानसहित ४७ जनाले दिए रगत

बुलेटिन संवाददाता
२ बैशाख २०७७, मंगलवार १६:२५

लुम्बिनी। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको लुम्बिनीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी नव युवा क्लबको आयोजनामा भएको कार्यक्रमको शुभारम्भ प्रदेश सभा सांसद फखरुद्दिन खानले रक्तदान गरेर गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद खान सहित ४७ जनाले रक्तदान गरेका छन् । सो अवसरमा बोल्दै सांसद खानले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न लकडाउनको पूर्ण पालना गरी घरमै बस्नुपर्ने आग्रह गर्दै यसको रोकथाम, उपचार र विपन्न वर्गलाई राहतको व्यवस्थामा सरकारले विपक्षी दलहरुसंग सहकार्य गरेर जानुपर्नेमा जोड दिए ।

क्लबका अध्यक्ष अहमद हुसेनले नयां वर्ष २०७७ को अवसर पारेर लुम्बिनी क्षेत्रका प्रदेश सांसद खानको सुझाव अनुसार रक्तदान आयोजना गरिएको र लकडाउनका वावजुद पनि कार्यक्रम सफल भएको बताए ।