स्वास्थ्य अवस्था कस्तो छ भन्दै जब सिनपाको मेयरले दैनिकी सोध्न थाले….

नरेश के.सी.
२४ चैत्र २०७६, सोमबार २१:२०

भैरहवा । तपाईको स्वास्थ्य अवस्था कस्तो छ ? केही समस्या छ की ? खानपीन कस्तो छ ? बसाई कस्तो छ ? पानीको व्यवस्था कस्तो छ ?
मान्छेका दैनिक जीवनसंग जोडिएका यस्ता जिज्ञासा सिनपा नगर प्रमुख हरि प्रसाद अधिकारीले क्वारेन्टाइनमा बसीरहकोहरुलाई दैनिक रुपमा गर्ने गरेका छन् । समय मिलाएर कहिले बिहान, कहिले दिउंसो त कहिले सांझ भैरहवामा रहेका दुइ वटा क्वारेन्टाइनमा पालैपालो पुग्ने गरेका नगर प्रमुख अधिकारीले यसरी सोध्दा त्यहा बस्नेहरुमा उर्जा थपीएको देखिन्छ ।

सोमबार बिहान करिब ११ बजे भैरहवा स्थित नीमा प्रतिमान प्राविधिक शिक्षालयमा रहेका भारतीय नागरिकहरुसंग हिन्दी भाषामै सोही आशयको जिज्ञासा राख्दै थिए, सिद्धार्थनगरपालिका भैरहवाका नगर प्रमुख (मेयर) अधिकारी । उनको प्रश्न सकिन नपाउदैं क्वारेन्टाईनमा बसिरहेकाहरुले एकै स्वरमा भने, ‘खानबस्न त घरमा भन्दा राम्रो छ । केही समस्या छैन । तर हामी कहिले जान पाउंछौं । घरका आत्तिएका होलान । ’

दिनको एकपटक क्वारेन्टाइनमा पुग्ने गरेका नगर प्रमुख अधिकारीले क्वारेन्टाइनमा बस्नेहरुमा मानसिक तनाब नहोस्, उनीहरुमा आत्म विश्वास बढोस् भन्ने उद्धेश्यले आफु नियमित रुपमा क्वारेन्टाइनमा जाने गरेको बताए । उनले भने, ‘मैले केहि नगरे पनि नमस्कार भनेर सबैलाई अभिवादन गरेमा पनि कोठा भित्र गुम्सिीएर बसेकाहरुलाई हौसला मिल्छ । आत्मविश्वास र आत्मबल बढ्छ । जसले कोरोना विरुद्धको रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्धत मिल्छ । ’

नगरप्रमुख संग भेटेपछि क्वारेन्टाइनमा बसेका दीपक कुमारले भने, ‘सुविधाको हिसाबले घरमा भन्दा बढी छ । दुई पटक नास्ता, दुई पटक खाना । त्यहि हो यता उता जान मिल्दैन । तर हरेक दिन जसो मेयरसाब आइराख्नुहुन्छ । सन्चो बिसन्चो सोध्दा खुसी लाग्छ । ’

दिपक भारतको छपडा बिहार मसरथाना निवासी हुन् । उनी गुरबनियाको श्याम प्लाईमा काम गर्ने गर्दछन् । उनीसंगै बिहारका १३ जना उक्त क्वारेन्टाइनमा रहेका छन् ।
यसैगरी पोखरामा फलफुल ब्यापार गर्ने बिज्रेश प्रजापति भारतको भैया फरिन्दामा रहेको आफ्नो घर जान हिडेका थिए । तर लकडाउनको कारण उनी प्रशासन र नेपाल प्रहरीको सहयोगमा नीमा प्रतिमानमा बनाइएको क्वारेन्टाइनमा आइपुगेका छन् । उनले भने, ‘कुनै कमि छैन । त्यहिं हो , घरका आफन्तसंग अलग बस्नु परेको छ । अरु त सब ठीक ठाक छ । कुनै समस्या छैन ।

तानसेनबाट भारतको कोलहि गुडचीया जान हिडेका उमेश ठाकुर पनि परिवार सहित क्वारेन्टाइनमा बस्दा खासै नरमाईलो नभएको बताउंछन् । ७ बर्षिय एक छोरी, १४ बर्षिय अर्को छोरी र श्रीमति लक्ष्मी सहित उक्त क्वारेन्टाइनमा रहेका उनले भने, ‘घर जान पाईएन त्यो अलग कुरा भयो । तर उता पुगेको भए पनि त्यतिकै बस्न पथ्र्यो । यता पनि त्यतिकै बसीएको छ । ठीकै छ । त्यसमा बेला बेला हाकीमहरु आउनुहुन्छ । सोधपुछ गर्नुहुन्छ झनै खुसी लागेको छ । ’

सिद्धार्थनगरपालिकाको व्यवस्थापनमा यतिबेला नीमा प्रतिमान प्राविधिक शिक्षालयमा १५५ जना भारतीय मजदुरहरुलाई राखिएको छ । यसैगरी शैक्षिक तालिम केन्द्र बसडिलवामा ४९ जनालाई राखिएको छ । यी दुबै क्वारेन्टाइनको सुरक्षा नेपाली सेनाले गरिरहेका छ भने आवश्यक प्रबन्ध नगरपालिकाले गरिरहेको छ । उक्त क्वारेन्टाइनको अवस्था बुझन् नगर प्रमुख अधिकारी आफै जाने गरेका छन् । बेला बेला नगर उपप्रमुख उमा काफ्ले, प्रदेश सभा सदस्य सन्तोष पान्डे, नगरका अधिकृतहरु पनि क्वारेन्टाइन पुग्ने गरेका छन् ।

सिद्धार्थनगर पालिका भैरहवाले दैनिक २ पटक नास्ता र बिहान सांझ खानाको व्यवस्था सहित व्यवस्थीत ढंगले कोठाहरुमा राखेको सिद्धार्थनगरका बरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताए । क्षेत्रीका अनुसार क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य अवस्था नियमित रुपमा चेकजाच गर्न नगरको स्वास्थ्य शाखकोे टोली खटिएको छ ।

राहतमा थपीदैं सहयोगी हात
लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर भैरहवा क्षेत्रमा रहेका मजदुरहरुकोलागि बिहान बेलुका खानाको जोहो गर्ने उद्धेश्यले सिद्धार्थनगरपालिकाले स्थापना गरेको नोभल कोरोना भाइरस नियन्त्रण राहत कोषमा संघसंस्थाले खुलेर साथ दिईरहेका छन् ।

सोमबार सुनचादी व्यवसायी संघ सिद्धार्थनगरले ३१ ह्जार ५ सय रुपैया राहत कोषमा जम्मा गरेको छ । उक्त रकम बराबरको चेक नगर प्रमुख उपप्रमुखलाई हस्तान्तरण गरेको सुनचादी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले बताए ।

यसैगरी सोमबार नै होटल मौर्यले ५१ ह्जार सहयोग गरेको छ । नगरको राहत कोषमा रकम जम्मा गर्नेगरी होटलका प्रबन्ध निर्देशक राम बहादुर कोईरीले उक्त रकम प्रदान गरेका थिए ।

सिद्धार्थनगरको राहत कोषमा यसअघि समाजसेवी तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ष्ण प्रसाद शर्माले १ लाख २१ ह्जार , अष्ट्रेलियमा बस्ने भैरहवा क्याम्पसको पुर्व विद्यार्थि बन्दित काफ्लेले १ लाख ११ हजार १ सय ११ , मारबाडी सेवासंघबाट १ लाख ११ हजार १ सय ११ प्राप्त भएको छ।

उद्योग ब्यापार संगठनले ५१ ह्जार, बैदिक धर्म सेवा समिती सिद्धार्थनगर ५१ ह्जार, महिला सत्य सतानत धर्म सेवा संघबाट ५१ ह्जार, जनउत्थान बचत तथा क्रृण सहकारी संस्था ५० हजार, भैरब कलवारबाट ५१ ह्जार , नेपाल नेत्रज्योति संघबाट ५१ ह्जार प्राप्त भएको छ ।

लुम्बिनी निर्माण व्यवसायी संघबाट ४१ ह्जार, रोटरी क्लब भैरहवाबाट ३१ ह्जार, नारयणस्थान मन्दिर समितीबाट ३१ ह्जार एक सय एक, पाथिभरा बचत तथा क्रृण सहकारी संस्थाबाट ३१ ह्जार एक सय ११, राहत कोषमा सहयोग प्राप्त भएको नगरका बरिष्ठ लेखा अधिकृत गणेश क्षेत्रीले बताए ।

यसैगरी जेसीआई सिद्धार्थ २५ हजार ५ सय ५५, त्रिशुल बचत तथा क्रृण सहकारी संस्था भैरहवा २५ हजार, दीप ज्योति महिला सचेतना समूहबाट २१ ह्जार , लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनेन्टीयलबाट १५ हजार, प्रेम सेन्चुरी १० हजार १ सय , रामराज उपाध्यय १० हजार चार सहयोग गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघले ५० हजार र लुम्बिनी ईट्टा व्यवसायी महासंघले ५१ ह्जार बराबरको सामग्री प्रदान गरको राहत कोषमा यस अघि नै नगर कार्यपालिका बोर्डबाट ११ लाख ५१ ह्जार २१ ह्जार राख्ने निर्णय भईसकेको छ । यसैगरी कोषमा नगर प्रमुख हरि प्रसाद अधिकारीबाट व्यक्तिगत रुपमा १५ हजार उपप्रमुख उमा काफ्लेबाट र १३ वटा वडाध्यक्षहरु रमेश मल्ल, दिपक थापा, थानेश्वर पौडेल, भोला यादव, चेतबहादुर क्षेत्री, बिरेन्द्र श्रीवास्ताव, भिमसेन कर्माचार्य, राजनजंग राणा, शेषकान्त भन्डारी, विजय धवल, दीलिप यादब, करुन्जन श्रेष्ठ र सतिस मर्सानि ले १० हजारका दरले राहत कोषमा रकम प्रदान गर्नुभएको छ।

यसैगरी राधा माधब सेवा समिती र हनुमान मन्दिर समिती पनि खाद्यान्न सामग्री प्रदान गरेको नगरपालिकाले बताएको छ। सिद्धार्थनगरपालिकामा १ हजार ८ सय ७२ जना विपन्न तथा गरिब श्रमीकहरु रहेको तथ्यांक छ । सिद्धार्थनगरले नगरभित्र रहेका विपन्न श्रमीकलाई एक चरणमा राहत बितरण गरिसकेको छ । सिद्धार्थनगरले १५५ जना भारतीय मजदुरहरुलाई प्रतिमान निमा कलेजको क्वारेन्टाइनमा र २९ जनालाइ शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा रहेकाहरुकोलागि यतिबेला व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्दै आएको छ ।

नगरपालिकाका उपप्रमुख उमा काफ्लेका अनुसार राहत कोषमा सामाजिक संघसंस्था र व्यक्तिको सक्रिय साथ रहेको छ । उनले भनिन्, ‘सरकारको अभियानमा संघसंस्थाले मन खोलेर सहयोग गर्नु भएको छ । उहांहरुको सहयोग श्रमीक र मजदुरहरुको निम्ति खर्चिएको छ। ’