बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

बुलेटिन संवाददाता
२४ चैत्र २०७६, सोमबार १६:३५

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि १० चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । त्यसलाई फेरि बढाएर २५ चैतसम्म पुर्‍याइएको थियो ।

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।

उनी यसअघि डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

नेपाल ५ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि अधिकारीले दोस्रो पटकमा गभर्नर बन्ने मौका पाएका छन् ।