इपिसेन्टर बन्दै अमेरिका : एकैदिन ४ सय जनाको मृत्यु, एक लाख नाघे संक्रमित

बुलेटिन संवाददाता
१५ चैत्र २०७६, शनिबार ०९:२६

काठमाडौं । अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ ।

त्यस्तै शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ ।

अमेरिकाले कोभिड–१९को असर अर्थतन्त्रमा न्यूनीकरण गर्न २० खर्ब अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज ल्याइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यो भाइरस इस्टर (अप्रिल १२) सम्म मात्र रहने दाबी गरिरहेको अवस्थामा यो महामारी उल्लेख्य मात्रामा बढेको हो । बिहीबार राति ट्रम्पले भाइरस नियन्त्रणको विषयमा चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरी सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

अहिलेसम्म कोभिड–१९ बाट विश्वभर संक्रमित हुनेको संख्या ५ लाख ९६ हजार नाघिसकेको छ । यो भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि २७ हजार नाघिसकेको छ ।