पाल्पाका क्वारेन्टाइन ट्रान्जिट पोइन्ट बन्दै, बगनासकालीमा ११ र तानसेनमा २३ जना क्वारेन्टाइमा

भोजराज भट्टराई
१३ चैत्र २०७६, बिहीबार १०:५०

पाल्पा । कोरोना भाइरस कोभिड–१९ को सम्भावित संक्रमण कम गर्नका लागि व्यवस्था गरिएको क्वारेन्टाइन स्थल ट्रान्जिट पोइन्टको रूपमा प्रयोगमा आएका छन् । क्वारेन्टाइन स्थल व्यवस्थापन भएको २४ घण्टा नबित्दै जिल्लाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकामा तयार गरिएका क्वारेन्टाइनमा आश्रय लिनेहरू थपिएपछि व्यवस्था गरिएका स्थलहरू ट्रान्जिन्ट प्वाइन्टको रूपमा सदुपयोग भएका हुन् ।

बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले जनाए अनुसार बुधबार नै रामपुरका ९ जना रिब्दीकोट २ जना गरी ११ जनाले बगनासकाली–१ को ग्राम्य मा.वि.मा सेल्टर लिएका थिए । उनीहरूलाई बिहान स्वास्थ्य शाखाका प्रमुख लगायतको टोलीले काउसिलिङ गरी आ आफ्नो स्थानीय तहमा पठाइने बस्यालले बताउनुभयो । ‘हिजो उहाँहरूलाई सोही ठाउँमा राख्ने प्रशासनको सुझाव बमोजिम राखिएको हो । आज खानपिन, काउन्सिलिङपछि आफ्नै स्थानीय तहमा पठाउने व्यवस्था मिलाउँदैछौ ।’ बस्यालले भन्नुभयो । बगनासकाली पत्रकार समूहका संयोजक दिपक ढुङ्गानाले सेल्टर लिनेहरूलाई आवश्यक सहयोग गरिएको र हिजो १० बेड तयार भएपनि १ बेड अपुग भएकोमा थप व्यवस्थाग गरिएको जानकारी दिनुभयो ।

यस्तैगरी तानसेन नगरपालिका–६ को जनप्रिय मा.वि. पनि पूर्वखोला, वाग्लुङ र अन्य स्थलका गरी २३ जना व्यक्तिले सेल्टर लिएको नगरप्रमुख अशोक कुमार शाहीले जानकारी दिनुभयो । ‘तत्काल ट्रान्जिट प्वाइन्टको रूपमा जिल्ला र अन्यत्रका व्यक्तिहरूले आश्रय लिन सक्नेछन्, पछि आवश्यकता नगरक्षेत्र भित्रकै व्यक्तिहरूको लागि क्वारेन्टाइन प्रयोगमा आउनेछ ।’ नगर प्रमुख शाहीले बताउनुभयो । उहाँले तत्काल ट्रान्जिटको रूपमा आएकाहरूलाई खानपान, स्वास्थ्य चेकअप र परामर्श पश्चात आ–आफ्नै स्थानीय तहका क्वारेन्टाइन स्थलमा बस्नेगरी पठाइने बताउनुभयो ।

पाल्पाका १० स्थानीय तह मध्ये तानसेन, बगनासकाली, तिनाउ, रम्भा, रिब्दीकोट, रामपुर र माथागढी गरी ७ स्थानीय तहले क्वारेन्टाइन व्यवस्था गरिसकेका छन् । यस्तै निस्दी, पूर्वखोला र रैनादेवी छहरा गरी ३ तहमा भने यो विवरण तयार पार्दा सम्म क्वारेन्टाइन व्यवस्था भएको जानकारी छैन ।
बगनासकाली गाउँपालिकाले ग्राम्य मा.वि. र चन्द्र मा.वि.का गरी २० वटा बेडको क्वारेन्टाइन व्यवस्था गरेको छ । यस्तैगरी तानसेन नगरपालिकाले वडा नं. ६ को जनप्रिय मा.वि.मा १६ वेडको क्वारेन्टाइन तयार गरेपनि ५० बेडको पू¥याउने जानकारी दिएको छ । नगरपालिकाले आवश्यकता अनुसार अन्य स्थानमा समेत क्वारेन्टाइन व्यवस्था गर्ने जनाएको छ ।

उता रिब्दीकोटको खस्यौली स्थित सरस्वती मा.वि.मा ५० वेडको क्वारेन्टाइन व्यवस्था गर्ने गरी काम सुचारु भएको गाउँपालिका स्रोतले बताएको छ । यस्तैगरी माथागढीको किसान मा.वि. र दिव्य ज्योति मा.वि.मा गरी ४०, रामपुरमा २० र तिनाउमा १० वेडको क्वारेन्टाइन व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ । अन्य काम बाँकी भएका पालिकाहरूले क्वारेन्टाइनको तयारीमा लागेको बताएका छन् ।