पाल्पाका चार स्थानीय तहमा क्वारेन्टाइनका लागि व्यवस्था

भोजराज भट्टराई
१२ चैत्र २०७६, बुधबार १९:४१

पाल्पा। जम्मा १० वटा स्थानीय तह रहेको पाल्पाका चार वटा स्थानीय तहले कोभिड–१९ को सम्भावित जोखिम न्यूनिकरणका लागि क्वारेन्टाइन स्थल व्यवस्था गरेका छन् । नोभेल कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले संक्रमणको सुनिश्चित हुने अवधिभर संक्रमितलाई छुट्टै राख्नका लागि क्वारेन्टाइन सञ्चालनमा ल्याएको क्वारेन्टाइन सञ्चालनको व्यवस्था गरेका स्थानीय तह स्रोतले जनाएका छन् ।

रिब्दीकोट गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत ऋषिराम अर्जेलले चैत्र ७ गते बसेको कार्यदलको ७ गते बैठकको निर्णय अनुसार खस्यौलीमा हेल्प डेक्स सहित दुई वटा वेड सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । ‘आज (बुधबार) रिब्दीकोट गाउँपालिकाले सरस्वती मा.वि. खस्यौलीमा ७ गतेको दुई वेड सहित १८ वटा क्वारेन्टाइन बेड सञ्चालनमा ल्याएको छ ।’ उहाँले भन्नुभयो, ‘भोलि बिहानै देखि खटिएर सोही ठाउँमा ५० वेड सम्म पु¥याउने लक्ष्य छ ।’

यस्तैगरी बगनासकाली गाउँपालिकाले पनि बुधबार चन्द्र मा.वि. चापपानीमा १० बेड र ग्राम्य मा.वि.मा १० बेड गरी जम्मा २० शश्याको क्वारेन्टाइन सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आवश्यकता अनुसार गाउँपालिकाका अन्य विद्यालयमा पनि क्वारेन्टाइन तयार गरिने श्रेष्ठले बताउनुभयो । यता तानसेन गरपालिकाले पनि क्वारेन्टाइनका लागि वडा नं. ६ स्थित जनप्रिय मा.वि.मा क्वारेन्टाइनका लागि व्यवस्था मिलाएको छ । नगरपालिकाले सरोकारवालाहरूसहितको बैठकको निर्णय अनुसार क्वारेन्टाइन सञ्चालनमा ल्याएको स्रोतले जनाएको छ ।

यससँगै जिल्लाका अन्य छ वटा जिल्लाका अन्य गाउँपालिकाले पनि क्वारेन्टाइनका व्यवस्थाको तयारी गरिरहेका छन् । रामपुर नगरापालिकाले २० वेडको क्वारेन्टाइन व्यवस्थापन गर्ने जनाएको छ भने जिल्लाको रम्भा, निस्दी, पूर्वखोला, रैनादवी छहरा र तिनाउँ गाउँपालिका क्वारेन्टाइनको तयारीमा लागेको बताएका छन् । यसैबीच तिनाउँ गाउँपालिकाले सोमबारदेखि सिद्धाथ राजमार्गको दोभानमा भित्रिने अत्यावश्यक सवारी साधन सवारी चालक र यात्रुहरूमा हेल्थ डेक्स सञ्चालनसहित ज्वरो तथा रुघाखोजी चेकजाँच गर्दै आएको जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालयले सम्भावित कोरोना संक्रमण हुन नदिन अत्यावश्यक बाहेकमा पसल बन्द गरी सर्वसाधारणलाई अनावश्यक हिंडडुलमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मंगलबार निषेधाज्ञा जारी गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र मानिसहरूलाई जम्मा नहुन आग्रह गर्नुभएको हो ।