अत्यावश्यक काम नपरी बाहिर ननिस्कन पाल्पा प्रशासनको आग्रह

बुलेटिन संवाददाता
११ चैत्र २०७६, मंगलवार १७:३१

भोजराज भट्टराई,
पाल्पा ११, चैत्र ।
औषधी उपचार एवं खाद्य वस्तु खरिद लगायतका अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय पाल्पाले आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीद्वारा पाल्पा जिल्लाभरी चैत्र ११ गते अपरान्ह ३ बजेदेखि चैत्र १८ गते बिहान ६ बजेसम्म लागु हुनेगरी हस्ताक्षरसहित मंगलबार जारी गरिएको आदेशमा जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायहरूले प्रयोग गर्नेगरी सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक एवं निजी सवारी साधनहरू सञ्चालनमा निषेध गरिएको छ ।

आदेश पत्रमा उल्लेख गरिए अनुसार स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार तथा सञ्चार, फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवामात्र सञ्चालनमा रहनेछन् । चैत्र ११ देखि १८ गतेसम्म अत्यावश्यक वस्तुको नियमित आपूर्तिको लागि प्रयोग हुने सवारी साधनहरूले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय रामपुरबाट अनुमति पत्र लिइ सञ्चालन गर्नुपने, व्यवसायीहरूले औषधी, खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्नुपर्ने, काला बजारी, मूल्य वृद्धि, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्ति÷समूहलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिइ कडा कारवाही गरिने आदेश पत्रमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी सुवेदीद्वारा जारी आदेश कार्यान्वयनको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले प्रमुख जिल्ला अधिकारीलाई प्राप्त अधिकार बमोजिम जिल्ला स्थित सरकारी कार्यालयका सवारी साधनहरू आवश्यकता अनुसार विपद् जोखिम न्यूनीकरणका लागि प्रयोग गर्न सकिने समेत उल्लेख छ ।

नेपाल सरकार मन्त्री परिषद्को मिति २०७६ चैत्र ९ गतेको निर्णयबाट प्रत्यायोजित अधिकार बमोजिम संक्रमण रोग ऐन २०२० को दफा २ ले प्रदान गरेको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारीलाई प्राप्त अधिकारसमेत प्रयोग गरी हालै विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणको लागि आदेश जारी गरिएको आदेश पत्रमा उल्लेख गरिएको छ ।

यसैबीच मंगलबार बिहानै देखि सदरमुकाम तानसेन र आसपासका क्षेत्रमा छिटफुट सवारी साधन र मानिसहरूको आवतजावत बाहेक बजार माहोल सुनसान छ ।