बुटवलका समाजसेवी शेरचनद्धारा अमरपथका १८ व्यावसायीक सटरको भाडा मिनाहा

बुलेटिन संवाददाता
१० चैत्र २०७६, सोमबार २१:३०

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एक समाजसेवीले आफ्ना १८ वटा व्यावसायीक सटर तथा गोदामको एक महिनाको भाडा मिनाहा गर्ने घोषण गर्नुभएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमका कारण व्यापार व्यावसायमा आएको संकटलाई मध्यनजर गर्दै तिनाउ एफ एम एण्ड मिडिया प्रालीका अध्यक्ष मृगेन्द्र कुमार शेरचनले आफ्ना १८ वटा व्यावसायीक सटर तथा गोदामको भाडा मिनाहा गर्ने घोषणा गर्नुभएको हो ।

शेरचनको बुटवलकै ब्यापारिक मुटु मानिने अमरपथमा नेपालगञ्जरोडको तिनाउपुलदेखी अमरपथको प्रहरीबिट सम्म १८ वटा व्यावसायिक सटर तथा गोदाम रहेका छन ।

बुटवल उप–महानगरपालिका वडा नंं.५ अमरपथ निवासी शेरचनले विभिन्न व्यावसाय गर्दै आएका व्यवसायीहरुलाई यस्तो समयमा केही भएपनि राहत स्वरुप सहयोग पुग्ने बताउँदै चैत्र महिनाका घर बहाल नलिने घोषणा गर्नुभएको हो ।

साथै उहाँले यस्तै विषम परिस्थिती कायमै रहेमा थप आगामी महिनाहरुको पनि बहाललाई पुर्न विचार गरी व्यावसायीहरुलाई सहयोग गर्ने बताउनुभएको छ । लाखौ रुपैया पर्ने सटर तथा गोदामको भाडा मिनाहा गरेर शंकटको घडिमा व्यावसायीहरुप्रति देखाएको सहयोगको  सर्वत्र स्वागत गरिएको छ ।

यसअघी पनि शेरचनले बारा र पर्सामा हावा हुरीबाट प्रभावितहरुलाई घटनास्थलमै एक टोली पठाएर आर्थिक तथा जिन्सी राहत वितरण गर्नुभएको थियो । शेरचन लुम्बिनी अञ्चलको पहिलो रक्तदाता समेत हुनुहुन्छ ।