बालमैत्री कार्यक्रमको दीगोपनको लागि योजना तयार

बुलेटिन संवाददाता
५ चैत्र २०७६, बुधबार २०:४०

भोजराज भट्टराई,
फागुन ५, पाल्पा ।
बगनासकाली गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा पश्चात्को दीगोपनको लागि रणनीतिक योजना तयार गरी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले घोषणा पश्चात् दीगोपनाको लागि चारदिने गोष्ठी सञ्चालनसहित पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको हो । बालमैत्री स्थानीय शासनका ८५ प्रतिशत सुचकांङ्क पूरा गरी गाउँपालिका भित्रका सबै विद्यालय बालमैत्री घोषणा गरिसकेको गाउँपालिकाले चैत्र २ देखि ५ गतेसम्म चारदिने दीर्घकालिन योजना निर्माणका लागि सरोकारवालाहरूबीच रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन गरेको थियो ।

गोष्ठीमा बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालनमा सहयोग गर्ने साझेदार संस्था इन्द्रेणी समाज र बेस नेपाल सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, बाल क्लव र बालसञ्जालका प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन मनोज आचार्यका अनुसार चार दिनसम्म चलेको गोष्ठीमा प्रस्तावित रणनीतिका विषयमा समुहगत रूपमा छलफलसहित पञ्चवर्षीय खाका तयार गरिएको छ ।

यस्तैगरी बालअधिकारमा आधारित सहभागितामूलक योजना तर्जुमा गरी बालबालिकाको सन्दर्भका विभिन्न सवालहरूको प्राथमिकीकरण, विश्लेषणगर्दै सवाल तथा समस्या समाधानको लागि योजना तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले बाल बचाउ, बाल संरक्षण, बालविकास, बालसहभागितालाई संस्थागत गर्नको लागि आवश्यक आगामी आ.व. २०७७÷७८ सहित पञ्चवर्षीय प्रस्तावित विनियोजित बजेटबारे जानकारी दिनुभयो ।

कार्यक्रमकी सहजकर्ता शर्मिला पौडेलले गाउँसभाले प्रस्तावित योजनालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासन शासकीय स्वरुप भएको प्रष्ट्याउदै बालमैत्री स्थानीय शासन कार्यक्रम अवलम्बन गर्न लागेको गाउँपालिकामा घोषणाको दीगोपना सुनिश्चता अनिवार्य हुने जनाउनुभयो । ‘बालमैत्री स्थानीय शासन हुनको लागि आवश्यक ३९ वटा सूचक र १६ वटा तहगत खुड्कीलालाई अवलम्बन गर्न गाउँपालिका र वडा कार्यालयले सक्रियताका साथ नेतृत्व लिएर अगाडि बढ्नुपर्दछ ।’ पौडेलले भन्नुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिएमा गाउँपालिकाको नीतिगत योजनामा केन्द्रबाट ससर्त अनुदानसहित सहयोग गर्ने सम्भावना रहने औंल्याउनुभयो ।

बालमैत्री स्थानीय शासन शासकीय स्वरुप भएको प्रष्ट्याउदै गोष्ठीकी सहजकर्ता शर्मिला पौडेलले बालमैत्री स्थानीय शासन कार्यक्रम अवलम्बन गर्न लागेको गाउँपालिकामा घोषणाको दीगोपना सुनिश्चता अनिवार्य हुने जनाउनुभयो । उहाँले बालमैत्री स्थानीय शासन हुनको लागि आवश्यक ३९ वटा सूचक र १६ वटा तहगत खुड्कीलालाई अवलम्बन गर्न गाउँपालिका र वडा कार्यालयले सक्रियताका साथ नेतृत्व लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

बालमैत्री गाउँसमितिका संयोजक तथा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले घोषणा घोषणाका लागि मात्र नभई दीगोपन हुनको लागि रणनीतिक योजनासहितको गोष्ठी सार्थक रहने औंल्याउनुभयो । उहाँले बालविकासका नाममा गरिने खर्चलाई खर्चको रूपमा नबुझी लगानीका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो । बालमैत्री स्थानीय शासन गाउँसमिति उपाध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले प्रस्तावित रणनीतिक योजनाको निरन्तरताको लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर जनाइएकोले बालबालिकाको क्षेत्रमा गरिने लगानी सुनिश्चितताका लागि गाउँपालिका प्रतिबद्ध रहने औंल्याउनुभयो । उहाँले बुँदागत र समूहगत छलफलसहित प्रस्तावित रणनीतिक योजना निर्माण गरिएकोले गोष्ठी प्रतिफल उन्मुख भएको विश्वास व्यक्त गर्नुभयो ।

बालअधिकारका चारवटा क्षेत्रहरू बालबचाउ, बाल संरक्षण, बालविकास र बालसहभागितालाई संस्थागत गर्ने उद्देश्य अनुरुपको बालमैत्री स्थानीय शासन कार्यक्रम बगनासकाली गाउँपालिकाले चौथो गाउँसभाको निर्णय अनुरुप निरन्तरता दिएको हो । बालमैत्री स्थानीय शासनमा बालसहभागिता अभिवृद्धि गर्दै सबै प्रकारका हिंसा, शोषण र विभेदको अन्त्य गर्न बालमैत्री स्थानीय प्रभावकारी हुने अपेक्षा लिएको गाउँपालिकाले गाउँपालिकाभित्रका ३७ विद्यालयलाई बालमैत्री उन्मुख गाउँपालिका घोषणा गरिसकेको छ ।

बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७० मा बाल बचाउ, बालसंरक्षण, बाल किाव, बाल सहभागिता र संस्थागत विकासको क्षेत्रमा तोकिएका ३९ सूचकमध्ये १७ सूचकमा सतप्रतिशत र २२ सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गर्नुका साथै १६ ओटा तहगत खुड्कीला बमोजिमका क्रियाकलाप तथा नीतिगत निर्णयपश्चात बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिने प्रावधान रहेको छ ।