बुटवलमा दुई दिने परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

मोहन पौडेल
२५ फाल्गुन २०७६, आईतवार २१:०३

बुटवल । दुई दिने परीक्षा व्यवस्थापन सम्बन्धी राष्ट्रियस्तरको कार्यशाला गोष्ठी आईतवार बुटवलमा सम्पन्न भएको छ । व्यस्थापन संकायमा बिशिष्टिकृत बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयको समन्वयमा फाल्गुन २४ र २५ गते दुई दिनसम्म कार्यक्रम संचालन भएको हो ।

गोष्ठीमा नेपालभरका त्रिभुवन विश्वविद्यालय प्राज्ञीक स्वायत्तता अन्तर्गत स्वायत्त कार्यक्रम संचालन गर्ने क्याम्पसहरु कैलाली बहुमुखी क्याम्पस धनगढी, जनप्रिय बहुमुखी क्याम्पस पोखरा, शहीद स्मृति बहुमुखी क्याम्पस चितवन र लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका ९० भन्दा बढि प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी वाणिज्य क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता रहेको कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माको प्रमुख आथित्यता रहेको थियो ।

गोष्ठीमा विशिष्ट अतिथि तथा स्रोत ब्यक्तीेहरु त्रिभुवन विश्वविद्यालयका बरिष्ठ प्राध्यापक द्वय प्रा.डा. प्रेमराज पन्त र प्रा.डा. पुष्कर वज्रचार्यले परीक्षा व्यवस्थापन सम्बन्धी प्रश्नपत्र निर्माण, प्रश्नपत्र संयमता, उत्तर पुस्तिका परिक्षण, समपरिक्षण लगायतको बारेमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमका बक्ताहरुले यस प्रकारको गोष्ठीले स्वायत्त कार्यक्रम संचालनमा थप गुणस्तर अभिबृद्धि गर्नुका साथै यसमा संग्लन प्राध्यापकहरुको वृति विकास हुने र स्वायत्त परीक्षा संचालन तथा ब्यवस्थापनमा प्रभावकारिता वढ्ने बताएका थिए ।

कार्यक्रममा स्रोत व्यक्तिहरु प्रा.डा. प्रेमराज पन्त, प्रा.डा. पुष्कर वज्रचार्य, त्रिवि परीक्षा समिति सदस्य केशव राज शर्मा, सुदुरपश्चिम विश्वविद्यालयका पुर्व रजिष्ट्रार हेमराज पन्त, प्रदेश नं. ५ प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा. डा. इश्वर गौतम लगायतले बोल्नु भएको थियो । त्यस्तै कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदमराज जोशी, बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख विरञ्जी गौतम, शहीद स्मृति बहुमुखी क्याम्पस चितवनका क्याम्पस प्रमुख धर्मदत्त तिवारी लगायतले पनि आ–आफ्नो बिचार राख्नु भएको थियो ।

क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायको अध्यक्षता तथा सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।