‘वित्तिय संथाहरू लगानीमा प्रतिस्पर्धी बनौं’

बुलेटिन संवाददाता
२२ फाल्गुन २०७६, बिहीबार २२:१५

पाल्पा, २२ फागुन
वित्तिय संस्थाहरूको लगानी सुनिश्चित गर्न सञ्चालकहरू प्रतिफलमुखी लगानीमा प्रतिस्पर्धी बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । बगनासकालीमा क्रियाशील सहकारीहरूबीच भएको अन्तरक्रियामा सहभागीहरूले वित्तीय समृद्धिका लागि वित्तिय संस्थाहरू लगानीलाई प्रतिफलमा आधारित बनाउँदै प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा सहभागीहरूले सहकारी शिक्षा, लेखाव्यवस्थापन तालिम, अध्ययन अवलोकन, उत्पादित वस्तुको संकलन केन्द्रको माग गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले सहकारी संस्थाहरूले पूर्वाधार विस्तारमा मात्र लगानी नगरी शेयर सदस्यहरूलाई आत्मनिर्भर बनाउने गरी आयमूलक कार्यक्रममा लागनी गर्न आग्रह गर्नुभयो । ‘भवन, प्रशासनिक कार्यालयमा मात्र प्राय सहकारी संस्थाहरू लाग्ने गरेको देखिन्छ, अध्यक्ष बस्यालले भन्नुभयो–कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर लक्षित वर्गमा सहकारी पुग्नु जरुरी छ ।’ उहाँले उत्पादनलाई वृद्धि गर्न गाउँपालिकाले साना कृषकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।

उपाध्यक्ष सरस्वती चिदीले बहुउद्देश्यी सहकारी संस्थाहरूले फरक क्षेत्रमा लगानी गर्दा अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले महिला सहकारी संस्थाहरूलाई नेतृत्व तथा व्यक्तित्व विकास गर्दै आय आर्जनमा सक्रिय बन्न सुझाव दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष धुव्र अधिकारीले सहकारीका सञ्चालकहरूलाई विद्यमान ऐन कानून लगायत सहकारीको व्यवसायिक सफलताका लागि सञ्चालकको काम, कर्तव्य, अधिकारका विषयमा सहजीकरण गर्नुभयो । गाउँपालिका सहकारी विभागका प्रमुख यादव न्यौपानेले सहकारीको पहिलो काम सदस्यहरूको सेवा हो भन्दै सहकारीहरूले योजना बनाउँदा सदस्यहरूको हितमा हुने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी ऐन नियमको पालना गर्दै व्यवसायिक कार्यमा लाग्न सञ्चालकहरूलाई आग्रह गर्नुभयो । अन्तरक्रियामा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षता र गाउँपालिकाका सहकारी विभाग प्रमुख यादव न्यौपानेको सञ्चालनमा चलेको थियो ।